काठमाडौं – प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीबीच लामो समयदेखि खटपट चलिरहेको छ । सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा चलेको भन्दै ओलीले असन्तुष्टि जनाउने गरेका थिए ।
यतिबेला सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेट्न प्रस्ताव गरेपनि ओलीले टेरेका छैनन् । कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेमार्फत आफूले भेट्न चाहेको कुरा प्रधानमन्त्रीलाई पठाएपनि खबर नआएको सभामुख सापकोटाले बताएका छन् ।
सोमवार सिंहदरबारस्थित कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले त्रिभुवन विमानस्थलमा भेट हुँदा प्रधानमन्त्री ओलीसँग समेत भेटका लागि समय मागेको बताएका छन् ।
बंगलादेश भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइका लागि विमानस्थलमा प्रधानमन्त्री ओलीसँग कुराकानी भएको र छलफलका लागि समय मागेको सापकोटाले जानकारी दिए ।
‘कानूनमन्त्रीमार्फत कुरा भइरहेको थियो । आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुरा भयो । समय मागेको छु, खबर आउँला,’ उनले भनेका छन्, ‘कानूनमन्त्रीमार्फत कुरा भइरहेको थियो । आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुरा भयो । समय मागेको छु, अब खबर आउला ।’
तर प्रधानमन्त्री ओली सभामुख सापकोटासँग असन्तुष्ट रहेकाले खबर नपाउने सम्भावना समेत उत्तिकै रहेको स्रोतले जनाएको छ । पछिल्लो पटक सरकारले ल्याएको अध्यादेश संसदमा टेबुल हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै सभामुखको आलोचना गरेका छन् ।
सभामुख सापकोटाले सरकारले ल्याएका विधेयक र अध्यादेश अड्काउने मनसाय नभएको स्पष्टीकरण दिएका छन् । संसद अधिवेशन नरहेका बेला सरकारले ल्याएका विभिन्न ७ वटा विधेयक प्रतिनिधि सभामा पेश हुन नसकिरहेका बेला सभामुख सापकोटाले स्पष्टीकरण दिन खोजेका हुन् ।
फागुन २३ गतेको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएको थियो । अध्यादेश पेश हुँदै गर्दा कांग्रेसको अवरोधका कारण रोकिएका अन्य ७ वटा अध्यादेश पेश हुन नसकेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।