शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कसरी तुहियो शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउने प्रचण्ड–बाबुरामको योजना ? 

कसरी तुहियो शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउने प्रचण्ड–बाबुरामको योजना ? 

  • मिडिया डबली
  • आइतवार, चैत्र ८ २०७७

  • 14.1K
    SHARES

  • कसरी तुहियो शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउने प्रचण्ड–बाबुरामको योजना ? 

    काठमाडौं – नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच अविश्वास बढ्दै गएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन भित्रभित्रै लालायित छन् । तर जसपाको सिंगो समर्थन नपाए उनको नेतृत्वमा नयाँ गठबन्धन बन्न सक्दैन ।

    जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवको धार वैकल्पिक सरकार निर्माणको पक्षमा छ । तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित पूर्व राजपा धार प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा गइहाल्ने पक्षमा छैन । 

    नयाँ गठबन्धनको आधार नबनेको भन्दै माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

    जसपाको सिंगो सहयोग नमिलेसम्म ओलीको विकल्पमा ३ दलको गठबन्धन बन्न सक्दैन । संसदमा अहिलेको गणितमा कांग्रेसका ६३ (२ जना निलम्बित), माओवादीका ५३ (४ जना एमालेतिर लागेका) र जसपाका ३४ (२ निलम्बित) सांसद छन् ।

    अनौपचारिक कुराकानीमा देउवाले आफूनिकट नेताहरुसँग जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले ओलीको विकल्पमा जान नसक्ने बताउने गरेका छन् । यादव र भट्टराई भने प्रमुख प्रतिपक्षको हैसियतमा देउवाले वैकल्पिक गठबन्धनका लागि नेतृत्व लिइदिए हुन्थ्यो भन्ने पक्षमै छ । ठाकुर र महतोलाई पनि ओलीको विरोधमा गएर देउवा प्रधानमन्त्री बन्न नसक्ने विश्वास छ । प्रधानमन्त्री ओली र देउवाबीच प्रतिनिधिसभा विघटनअघिदेखि नै ‘लेनदेन’को सम्बन्ध छ ।

    प्रतिनिधिसभा विघटनको खुलेर विरोध नगरेका देउवाले आफैं अग्रसर भएर ओलीलाई हटाउलान् भन्नेमा ठाकुर र महतोलाई विश्वास छैन । ३ दलीय गठबन्धन बनाउन जोडबल गरिरहेको माओवादी केन्द्रलाई पनि कांग्रेस र जसपाको ठाकुर–महतो समूहप्रति अविश्वास छ । त्यही अविश्वासका कारण माओवादीले अहिलेसम्म सरकारबाट अलग हुने घोषणा गर्न सकेको छैन । ओली नेतृत्वको सरकारमा माओवादी व्यावहारिक रुपमा सहभागी छैन । तर प्राविधिक रुपमा सत्तासिन भएरै उसले अपजस खेपिरहेको छ । सरकारबाट अलग भएको औपचारिक निर्णय लिन सकेको छैन ।

    माओवादीले सरकारबाट अलग भएको निर्णय गरेपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । ३ दलीय गठबन्धन सुनिश्चित नभएसम्म सरकारबाट अलग हुने निर्णय आत्मघाती हुने माओवादीको बुझाइ छ । ३ दलबीच भद्रगोल अवस्था रहेकै बेला ओलीले ३० दिन नपर्खेर तत्काल विश्वासको मतको प्रस्ताव संसदमा राख्न सक्छन् । त्यस्तो बेलामा उनले विश्वासको मत नपाउने र संसद्ले वैकल्पिक सरकार पनि दिन नसक्ने जोखिम हुन्छ ।

    त्यसले फेरि प्रतिनिधिसभा विघटनको जोखिम बढाउँछ, जसको छनक ओलीले गत मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा दिइसकेका छन् । वैकल्पिक सरकार बन्न नसक्ने वातावरण बनाएर फेरि निर्वाचनमा जाने ओलीको दाउलाई पूरा हुन नदिने योजनाकै लागि प्राविधिक रूपमै भए पनि माओवादीले सरकारसँगको सहकार्य कायम राखेको छ ।

    सरकारबाट अलग भएको निर्णय गर्नुभन्दा ३ दलको संयुक्त सहमतिमा अविश्वास प्रस्ताव दर्ता गर्ने योजनामा माओवादी अघि बढेको छ ।

    नेपाली कांग्रेसका सभापति देउवाले शनिवार चितवनमा पनि आफू प्रधानमन्त्रीका लागि लालायित नभएको तर अवसर आए पछि नहट्ने पुरानै भनाइ दोहोर्‍याएका छन् । कांग्रेस नेताहरुका अनुसार देउवाको यो भनाइको तात्पर्य सशर्त प्रधानमन्त्रीका लागि अग्रसर नहुने तर सहजै हुने अवस्था आए पछि नहट्ने भन्ने हो । देउवा आफैंले माओवादी केन्द्र र जसपाका नेताहरुलाई बोलाएर एकपटक पनि सरकारको विषयमा छलफल गरेका छैनन् । बरु माओवादी केन्द्र र जसपाका नेताहरु देउवासँग समय लिएर छलफलमा गएका छन् । पार्टीकै कतिपय नेताहरुले देउवाको यो भूमिकालाई बाह्य शक्तिको दबाब र ओलीसँगको सम्बन्धसँग जोडेर हेर्ने गरेका छन् ।

    ‘जुन शक्तिको दबाब ठाकुर र महतोले क्रस गर्न सकिरहेका छैनन्, हाम्रा पार्टीका सभापतिले पनि त्यो दबाबलाई क्रस गर्न सक्ने क्षमता राख्नुभएको छैन,’ कांग्रेसका विदेश मामिला जानकार एक नेताले भने, ‘वैकल्पिक सरकार बन्न नदिएर निर्वाचनमा लैजान खोज्ने चाहना प्रधानमन्त्री ओलीले राख्दै आएको प्रष्ट छ र त्यसमा केही विदेशी शक्तिको चाहना घुलिएको छ । त्यसैकारण ठाकुर र महतोले कांग्रेसलाई देखाउने र कांग्रेस सभापतिले जसपालाई देखाउने काम हुँदै आएको छ ।’

    नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देउवाको भूमिका फेरि अलमलमा परेको भन्दै आलोचना गर्न थालेका छन् । पौडेल र सिटौला निर्वाचनमै जान परे पनि कांग्रेसले सरकारको नेतृत्व लिएर जानुपर्ने पक्षमा छन् । त्यसका लागि पहिलो प्राथमिकता ओलीको विकल्पमा गठबन्धन बनाउनु हो । गठबन्धन बनाउन देउवाले गरिरहेको आलटालप्रति पार्टीकै संस्थापनइतर खेमा सन्तुष्ट छैन ।

    जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले कांग्रेसले जसपालाई, जसपाले कांग्रेसलाई र माओवादी केन्द्रले दुबै पार्टीलाई देखाउने काम मात्रै भइरहेको बताएका छन् । ‘ढिलो–चाँडो यो अविश्वासलाई चिरेर ओली नेतृत्वको सरकार हटाउन हामी सफल हुनेछौं,’ श्रेष्ठले भने, ‘हाम्रो मूल ध्येय सरकारको नेतृत्व पाउनुपर्छ भन्ने होइन । प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भन्ने हो तर कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह नगरेपछि सत्ताको साँचो हातमा लिएको जसपाले नेतृत्व पाउनुपर्छ भन्ने कुरा स्वाभाविक हो ।’

    श्रेष्ठले ओलीले फेरि संसद विघटन गरेर निर्वाचनतिर मुलुकलाई धकेल्न खोजे पनि सम्भव नहुने दाबी गरेका छन् । जसपाले आन्तरिक छलफलबाट सहमति कायम गरेर निर्णय लिने उनले बताएका छन् ।

    ओलीको विकल्प खोज्ने कि नखोज्ने भन्नेमा जसपाका ५ जना पदाधिकारीबीचमै विवाद भएपछि बिहीवार बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित गरिएको थियो । यादव–भट्टराई पक्षले बैठकबाटै ओलीको विकल्पमा गठबन्धन बनाउने निर्णय लिने मनस्थिति बनाएको थियो तर ठाकुर–यादवले नमानेपछि स्थगित गरिएको हो । नेता जितेन्द्र सोनलले आफ्नो पार्टीले कांग्रेस र माओवादीतिरै हेरेको बताएका छन् ।

    ‘अहिले ओलीजी बहुमतको सरकारमा हुनुहुन्छ, यस्तो बेला कांग्रेस र माओवादीहरूको स्टेप के हुन्छ ? ओलीलाई हटाउने कि राख्ने भन्ने केन्द्रमा कांग्रेस र माओवादी नै छन् । माओवादीले अहिलेसम्म ओलीसँगको सहकार्य तोडेको छैन । माओवादीले सहकार्य जारी राख्ने र जसपाले निर्णय लिने कुरा हुन्न,’ सोनलले भने, ‘एमाले, कांग्रेस र माओवादीसँग हामी समदूरीमा छौं । हामीले सरकारभन्दा अघि मुद्दालाई प्राथमिकतामा राखेका छौं ।’

    मुद्दा सम्बोधन नहुँदासम्म जसपा तटस्थ भूमिकामा बस्ने सोनलको भनाइ छ । ‘सैद्धान्तिक र वैचारिक रूपमा पार्टी एकढिक्का हुन्छ । यतिबेला पार्टीभित्र नेतृत्व लिने र नेतृत्वका लागि समर्थन दिने कुरा अघि बढेको छैन । मुद्दाका आधारमा अघि बढ्नुपर्छ भन्नेमा पार्टी एकमत छ,’ सोनलले दाबी गरे । यादव र भट्टराई पक्षले भने मुद्दा सम्बोधन भए पनि ओली नेतृत्वको गठबन्धनलाई साथ दिन नसकिने बताउँदै आएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend