काठमाडौं - एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले माधव–झलनाथ पक्षलाई कारबाहीको तयारी थालेको छ ।
पार्टीको संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठकमा नजाने नेपाल–खनाल समूहको अडानपछि प्रधानमन्त्री ओली कारबाहीको निचोडमा पुगेका हुन् । त्यसको संकेत उनले बुधबार राति आफू निकट अनलाइन नेपाल प्रेसमार्फत गरिसकेका छन् ।
पार्टी निर्देशन उल्लंघन गर्दै बुधबार र बिहीबार ललितपुरमा कार्यकर्ता भेला गरेको भन्दै ओली पक्षले कारबाहीको तयारी थालेको हो । सुरुमा स्पष्टीकरण सोधिने ओलीनिकट एक नेताले जानकारी दिए।
एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार गुटगत भेला नगर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत निर्देशन दिएका थिए। ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाममा यही २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ पोखरेलले विज्ञप्तिमा भनेका थिए, ‘एमालेका तर्फबाट त्यस्तै कुनै पनि भेला आयोजना गरिएको छैन।’
भेलामा उपस्थित भए पार्टी र संसदीय दलको विधानअनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख छ। ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताउँदै विधिविधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी दिइसकेका छन्।
सत्तारुढ एमालेमा देखिएको विवाद अब छुटीभिन्न हुने अवस्थामा पुगेको छ । आज ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल समूह नजाने भएको छ ।
राष्ट्रिय भेलामा व्यस्त भएकाले आजका लागि बोलाइएको संसदीय दलको बैठकमा नेपाल–खनाल समूह सहभागी नहुने भएको छ । एमाले नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसदीय दलको बैठक हुने जानकारी आए पनि त्यहाँ जाने अवस्था नरहेको बताइसकेका छन् ।
‘हामीलाई संसदीय दलको बैठकमा उपस्थित हुनका लागि आपत्ति छैन। आज हामीले संसदीय दलका नेता प्रधानमन्त्रीज्यूलाई कार्यव्यस्थताले हामी भोलिका लागि बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएका छौँ। तपाईंहरुमार्फत् पनि सार्वजनिक ढंगले यो जानकारी गराउन चाहन्छौँ। त्यसपछि हुने उपयुक्त बैठकमा हामी उपस्थित हुन्छौ,’ उनको भनाइ थियो ।
ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। सो बैठकमा पनि उपस्थित नभए संसदीय दल र केन्द्रीय कमिटी बैठकमा उपस्थित नभएको भन्दै स्पष्टीकरण सोध्दै पछि नेपाल–खनाल समूहका नेतालाई पार्टीको साधारण सदस्यबाटै हटाउने ओलीको तयारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।