काठमाडौं – पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका छन् ।
३ वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समेत बदर भएपछि प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्यमा सरकार टिकाउने रणनीतिमा लागेका छन् । त्यसका लागि अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो सहितका नेताहरुसँग कार्यदल नै बनाएर छलफलमा जुटेका छन् । तर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव सहितका नेताहरु ओली नेतृत्व सरकारलाई निरन्तरता दिने पक्षमा छैनन् ।
भट्टराई र यादव ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् । सरकारको नेतृत्वका विषयमा जसपाभित्र मतभेद बढ्दै जाँदा एउटा समूह अहिलेको सरकारको पक्षमा उभिन सक्ने ओलीनिकट नेताहरुको बुझाइ छ ।
ठाकुर सहितको एउटा समूह र रेणु यादव सहितको अर्को पक्षलाई पनि आफूतर्फ तान्न ओली पक्ष सक्रिय रहेको निकट स्रोतको दाबी छ । त्यस्तो अवस्थामा एमालेको सहभागिता विना अर्को सरकार गठनको सम्भावना कमजोर हुनेछ । तर एमालेभित्रकै विवाद बढ्दै जाँदा माधवकुमार नेपाल सहितका नेताहरू नै ओलीको विपक्षमा उभिन सक्ने आकलन गर्न थालिएको छ । त्यसले आफू नेतृत्वको सरकार कमजोर हुने विश्लेषण गरेका ओली पक्षले उनीहरुलाई फकाउन सहमतिको हात बढाएका छन् ।
सोमवार पार्टी मुख्यालयमा नेपाल सहितका नेताहरुसँग ओलीले छलफल गरेका छन् । छलफल कुनै ठोस निष्कर्षमा नपुगे पनि ओली पक्षीय नेताहरु नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोक्ने रणनीतिमा पुगेका छन् ।
ओली नेपाल समूहलाई केही समय अलमल्याएर जसपाको समर्थनमा संसदबाट विश्वासको मत लिने रणनीतिमा छन् । त्यसैले संवादहीनतालाई अन्त्य गर्दै उनले प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच लामो समयको अन्तरालपछि संवाद भएको छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व गरिरहेका ओली र प्रचण्डबीच लामो समयसम्म मनमुटावको अवस्था रहेको थियो ।
विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि २ नेताबीचको तिक्तता आरोप–प्रत्यारोपमा परिणत भएको थियो । नेकपाभित्रको प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीको संसद विघटन गर्ने निर्णयको सार्वजनिक रूपमै आलोचना गर्दै ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही समेत गरेको थियो ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकतालाई खारेज गरेपछि हाल ओली र प्रचण्ड पूर्ववत् पार्टीको नेतृत्वमै फर्किएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।