काठमाडौं – प्रतिनिधिसभा विघटन र पुनःस्थापनापछि सत्तारुढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्व प्रधानमन्त्रीलाई मंगलवार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठकमा बोलाएकी छन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पूर्व प्रधानमन्त्रीसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जानकारी दिएका छन् ।
‘पूर्व प्रधानमन्त्री र संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेतालाई सर्वदलीय बैठकमा बोलाइएको हो,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । राष्ट्रपतिले यसअघि नै दलसँग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको शितलनिवासको भनाइ छ ।
सर्वदलीय बैठकमार्फत राष्ट्रपतिले दललाई मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट टुंग्याउँदै अघि बढ्न आग्रह गर्ने बताइएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुकमा राजनीतिक दलबीच तिक्तता बढेको थियो भने पछिल्लो समय गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई एकीकरणअघिकै अवस्थामा पुर्याइदिएपछि पनि मुलुक राजनीतिक जटिलताबाट गुज्रिँदै आइरहेको छ ।
राष्ट्रपतिको पहलकदमीमार्फत मुलुकको बदलिएको राजनीतिक कोषलाई ट्रयाकमा ल्याएर दलबीच समझदारी कायम गर्दै एकताबद्ध ढंगबाट अघि बढ्ने लक्ष्य लिइएको बताइएको छ । पछिल्लो समय दलबीचको असमझदारी र राजनीतिक संवादहीनताको अवस्थाका कारण संसद पुनःस्थापना भएपछि संसद सहज रुपमा सञ्चालन हुन सकिरहेको छैन । आजको राजधानी दैनिकमा खबर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।