शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

अब टाढासम्मै सोच्न थाले प्रचण्ड !

अब टाढासम्मै सोच्न थाले प्रचण्ड !

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 8.3K
    SHARES

  • अब टाढासम्मै सोच्न थाले प्रचण्ड !

    काठमाडौं – नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ ।

    माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुबीच शनिवार भएको वार्तामा माओवादी केन्द्रले संयुक्त सरकारको प्रस्ताव गरेको हो ।

    जसपाका शीर्ष नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेतालाई भेट्न पेरिसडाँडा पुगेका थिए । भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता साझेदारीको प्रस्ताव गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

    ‘नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाऔं भन्ने प्रस्ताव उहाँहरुले राख्नुभयो,’ वार्तापछि यादवले भने, ‘नयाँ समीकरण बनाउने विषयमा छलफल गर्न उहाँहरुले हामीलाई बोलाउनुभएको हो ।’

    भेटवार्तामा माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार बनाउने विषयमा मात्र नभई आगामी चुनावसम्म सहकार्य गर्न प्रस्ताव गरेको जसपाका नेताहरुले जनाएका छन् । ‘उहाँहरुले यो सहकार्य नयाँ सरकार बनाउन मात्र नभई आगामी चुनावसम्म गरौं भनी प्रस्ताव गर्नुभएको छ,’ यादवले भने ।

    यसबारे कुनै निष्कर्षमा भने नपुगिएको जसपाका नेताहरुले बताएका छन् । भेटमा रेशम चौधरीको रिहाइलगायत जसपाका एजेन्डाहरुमा पनि छलफल भएको थियो । भेट सकारात्मक भएको यादवले बताएका छन् । उनका अनुसार यस्तो भेटघाट र छलफल जारी रहनेछ ।  

    सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले कुराकानी सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकिएको बताएका छन् । जसपाका अध्यक्षद्वय यादव र ठाकुरसहित ४ शीर्ष नेता पेरिसडाँडा पुगेका थिए ।  

    यसअघि शुक्रवार जसपाका शीर्ष नेताहरुले नयाँ सत्ता समीकरणबारे नेपाली कांग्रेसका नेताहरुसँग कुराकानी गरेका थिए । जसपाका नेताले बिहीवार प्रधानमन्त्री केपी ओलीसँग पनि यसै विषयमा कुराकानी गरेका थिए । जसपाका नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले पनि सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन् ।

    ओलीसँगको भेटमा कुनै निष्कर्षमा नपुगिएको जसपा अध्यक्ष यादवले बताएका छन् । अर्का अध्यक्ष ठाकुरनिकट नेताहरुले भने प्रधानमन्त्री ओलीले ठाकुरलाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेको दाबी गरेका छन् । 

    अध्यक्ष यादवले यस्तो प्रस्ताव नआएको दाबी गरेका छन् । ‘ठाकुरजीलाई प्रधानमन्त्री बन्न कहीँबाट प्रस्ताव आएको छैन । बाहिर आएको हल्ला मात्र हो,’ यादवले भने, ‘यो यथार्थ होइन ।’

    स्रोतका अनुसार जसपालाई अहिले एमाले र माओवादी केन्द्र दुबैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छुट्टाछुट्टै रुपमा यस्तो प्रस्ताव गरेका छन् ।

    नेपाली कांग्रेसका नेताहरुले पनि यस विषयमा जसपाका नेताहरुसँग कुराकानी जारी राखेका छन् । जसपाका नेताहरु भने कुन पक्षसँग सत्ता साझेदारी गर्ने भन्ने विषयमा २ धारमा बाँडिएका छन् । डा. बाबुराम भट्टराई, अध्यक्ष यादवलगायत केही नेता माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष ठाकुर, राजेन्द्र महतो लगायतका नेता ओलीसँग निकट देखिएका छन् ।

    गत वर्ष तत्कालीन समाजवादी पार्टी फुटाउन अग्रसर देखिएका प्रदीप यादव, इस्तिायक राई, विमल श्रीवास्तव लगायतका नेता पनि ओलीसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा रहेका छन् ।  

    प्रतिनिधि सभामा जसपाको ३४ सिट रहेको छ । जसमध्ये हरिनारायण रौनियार र रेशम चौधरी हाल निलम्बनमा रहेका छन् । एमाले र जसपा मिलेमा नयाँ सरकार बन्न बहुमत पुग्छ तर माओवादी केन्द्र र जसपा मात्र मिलेमा बहुमत पुग्दैन । त्यसमा नेपाली कांग्रेसको सहयोग समेत चाहिन्छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend