काठमाडौं – सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गर्दै प्रदेश सरकार सम्हाल्न तयार हुँदै लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलहरूसँग वार्ताका लागि कार्यदल गठन गरेको छ ।
अदालतले नेकपा खारेज गर्दा नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले कार्यदल गठन गरेका छन् ।
कार्यदलमा कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान, बीरबहादुर राना र रमा अर्याल रहेका छन् । कार्यदल संयोजक एवं कांग्रेस प्रमुख सचेतक खानले प्रमुख प्रतिपक्षी दल ‘वेटिङ गभर्मेन्ट’ भएकाले पछिल्लो राजनीतिक परिस्थितिमा सरकारको नेतृत्व लिने गरी माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलहरूसँग छलफल, संवाद र परामर्श सुरू गर्ने जानकारी दिए ।
‘केपी ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि हामी त्यसविरुद्ध आन्दोलनमा उत्रिएका थियौं, त्यसैले हाम्रो जोड एमाले इतरका दलहरूसँग मिलेर गठबन्धन सरकार बनाउनु नै राजीतिक रूपमा उपयुक्त हुन्छ भन्ने हो,’ उनले भने । एमालेसँग पनि छलफल हुने र केन्द्रबाट जे निर्देशन आयो, त्यही अनुसार नै गठबन्धन बन्ने उनले बताएका छन् ।
लुम्बिनी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार रहेको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रदेश सरकार संकटमा पर्ने देखिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनबाट लुम्बिनी प्रदेश सभाको ८७ सिटमध्ये एमालेबाट ४१ जना र माओवादी केन्द्रबाट २० जना प्रदेश सांसद निर्वाचित छन् । अदालतबाट एकता खारेज भएसँगै सरकार टिकाउन एमालेलाई ३ जना सांसद अपुग रहेका छन् ।

लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । मुख्यमन्त्री पोखरेलले बहुमत पुर्याउन राष्ट्रिय जनमोर्चाबाहेक कुनै १ दलको समर्थन लिनुपर्ने देखिएको छ ।
एमालेले जसपासँग मात्रै मिलेर पनि बहुमत पुर्याउन सक्ने देखिएको छ । तर एमाले इतरका दलहरूले सरकार बनाउने अवस्थामा माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी दलको गठबन्धन बन्नुपर्ने देखिएको छ । विपक्षमा रहेका ३ दल मिलेमा ४५ सांसदको समर्थन प्राप्त हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।