काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापनापछि नेपाली कांग्रेसको एक पक्ष र तत्कालीन नेकपा प्रचण्ड–माधव समूहले आफ्नो जित भएको भन्ठानेको थियो । प्रधानमन्त्री केपी ओलीलाई नैतिक संकट आइपर्ने र उनले राजीनामा दिने अपेक्षा उनीहरूको थियो ।
तर, न त ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए न त उनी कमजोर नै भए । सर्वोच्च अदालतको पछिल्लो फैसलाले उनलाई खुदो पल्टिएको छ । अस्तित्वमै नरहेको नेकपा एमाले आइलागेको छ । त्यसको शक्तिशाली अध्यक्ष बनेका छन् ।
यदि माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा उनी जसपालाई साथमा लिएर दुई वर्ष सरकार आरामले चलाउने मनस्थितिमा छन् । त्यसैले यतिबेला प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्ने नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, प्रकाशमान सिंहहरू निकै अप्ठेरोमा परेका छन् ।
सर्वोच्चको फैसलाले राजनीतिक रूपमा नेपाली कांग्रेसले सेट ब्याक खाएको छ । अब शक्तिशाली एमालेसँग निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । किनभने एमाले देशका हरेक निकायमा बलियो अवस्थामा छ ।
त्यसमा पनि ओलीले निकै मलजल गरेका छन् । कार्यकर्ता राखेका छन् । राष्ट्रवादी छविलाई बरकरार राख्ने दौडमा छन् । त्यसैले हिजो प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस अर्ली इलेक्सनको पक्षमा देखिएका छन् ।
मध्यावधि निर्वाचन गराउने सर्तमा कांंग्रेस सरकारमा सामेल हुनुपर्ने पक्षमा पौडेलेदेखि कोइरालासम्म एक ठाउँमा आइपुगेका छन् । तर, संस्थापन सभापति शेरबहादुर देउवा पक्षले अझै केही मुख खोलेको छैन ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले नयाँ खेल भर्खर सुरु भएकाले कांग्रेसले सरकार बनाउन हतार नगर्ने स्पष्ट पारेका छन् ।
तर, जसपा र माओवादी केन्द्र मिलेर सरकार बनाउन प्रस्ताव गरे कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको र ६ महिनापछि निर्वाचनको घोषणा गर्नसकिने गरी जानुपर्ने सभापति देउवा पक्षका नेताहरूको पनि मत देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।