काठमाडौं – पूर्व प्रधानमन्त्री तथा प्रचण्ड–नेपाल पक्षका नेता झलनाथ खनालको गृहजिल्ला इलाममा कम्युनिस्ट देखेर वाक्क भएकाहरू कांग्रेसका प्रवेश गर्न थालेका छन् ।
नेपाली कांग्रेस इलामका लोकप्रिय युवा नेता डम्बर खड्काले कम्युनिस्टहरूको ढाँटको खेती देखेर वाक्कदिक्क भएका जनता अब कांग्रेसमा धमाधम प्रवेश गर्न थालेका बताएका छन् ।
इलामको नेपाली कांग्रेस माईजोगमाई गाउँपालिका–२ जोगमाईले गरेको पार्टी प्रवेश तथा क्रियाशील भेलालाई सम्बोधन गर्दै नेता खड्काले २७ वर्षसम्म इलाममा राज गरेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले जनतालाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै इलामको विकासका लागि आएको ७२ करोड रुपैयाँ सर्लाहीमा सर्प पालनतर्फ लगाएका बताए ।
कांग्रेस नेता खड्काले इलामको पूर्वी क्षेत्रका सीमा सडक अलपत्र परेको बरबोटेदेखि माबु जोड्ने पक्की सडक पनि अब नबन्ने अवस्थामा रहेको बताए ।
‘चुनावताका सबै काम गर्छु भन्ने झूटको खेती गर्ने कम्युनिस्टहरू जनताबाट नाङ्गेझार भएका छन्,’ उनले भने, ‘दुईतिहाइको सरकार, सत्ता र कुर्सीको खेलमा अल्मलिएर देशलाई गरीबीतर्फ उन्मुख गराएको छ, त्यसको परिणाम नेपाली जनताले भोग्नुपरेको छ ।’
वडा सभापति मोहन बस्नेतको सभापतित्वमा भएको पार्टी कार्यक्रममा पूर्वी क्षेत्रीय सभापति भिष्म प्रधान, क्षेत्रीय सदस्य ज्ञानी काजी, आमन्त्रित जिल्ला सदस्य श्याम खड्गी लगायतले मन्तव्य राखेका थिए ।
जोगमाईको शनिश्चरे बजार र लोससेमा मिरा थामी, रामचन्द्र न्यौपाने लगायत ४२ जना नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेता खड्काले अबिर तथा खादा ओढाएर स्वागत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।