काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि नेताहरू एकअर्काे पक्षतिर लाग्नेक्रम जारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो धक्का लागेको छ ।
नेकपा संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा दुबै पक्ष रहेको अवस्थामा २ जना सांसदहरू ओलीलाई छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षतिर लागेका छन् ।
फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला सांसदहरू आफूतिर तान्ने दुबै पक्षलाई अन्तिम मौका छ । संसद बैठक सुरू भएपछि बहुमत देखाउने खेल सुरु हुने विश्लेषण हुन थालेको छ ।
यसअघि नेकपा ओली पक्षमा लागेका सांसदद्वय माया ज्ञवाली र कलिला खातु समेत आज शुक्रबार प्रचण्ड–नेपाल पक्षको बैठकमा सहभागी भएका छन् ।
सिंहदरबारमा नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक जारी छ । बैठकमा नेकपाका बहुमत सांसदको सहभागिता रहेको दाबी गरिएको छ ।
पार्टीले ओलीलाई कारवाही गरिसकेकाले बैठकले संसदीय दलको नेता चुन्ने तयारी समेत गरेको छ । सिंहदरबारमा जारी बैठकबाट दलको नेता चुन्ने तयारी भइरहेको छ ।
यसअघि पुस ८ गते बसेको प्रचण्ड–नेपाल पक्षको बैठकले अध्यक्ष एवं सांसद माधवकुमार नेपालको प्रस्तावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता चयन गरिसकेको छ । निर्वाचन आयोगले माघ ११ गते नेकपा फुटिनसकेको निर्णय सुनाएपछि आधिकारिकताको अन्योलता देखिएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयपछि नेकपा राजनीतिक रूपमा विभाजित भएको छ । एउटा पक्षको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिए पनि नेकपा विवादमा निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरिरहेको छ । प्रचण्ड–नेपाल पक्षले आफूहरू नै आधिकारिक भन्दै आयोगमा दाबी प्रस्तुत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।