काठमाडौं - सार्वजनिक मञ्चमा जे पायो त्यही बोल्ने प्रधानमन्त्री केपी ओलीको सिको उनका दुई मन्त्रीले रामै्रसँग गरिरहेका छन् ।
उनीहरू हुन्, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र वनमन्त्री प्रेमबहादुर आले । केही दिनअघि एक विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथि थिए शिक्षामन्त्री श्रेष्ठ ।
तर, उनले दीक्षित विद्यार्थीलाई ज्ञान र सैद्धान्तिक विचार दिनुको सट्टा प्रधानमन्त्री ओलीको चाकडी गरेर हदैसम्मको दास मानसिकता प्रदर्शन गरे ।
कतिसम्म भने उनले ‘केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो’, ‘जसरी बुझ्नु हुन्छ बुझ्नुस्’, ‘कोही माइकालाल जन्मेको छ, कठालामा समातेर सडकमा ल्याउने ?’ ‘राजीनामा दे भन्नेहरूले बनाएको प्राइममिनिस्टर हो ?’, ‘अदालतको फैसलाले ‘आइएम हेयर द एजुकेसन मिनिस्टर’ जस्ता निम्नस्तरका भाषण गरेर दरिद्र विद्वत प्रदर्शन गरे ।
दीक्षान्त समारोहमा श्रेष्ठले गरेका भाषणको भिडियो अहिले सामाजिक सञ्जाल, युट्युबमा भाइरल बनेको छ । जसले नेपालले कस्तो शिक्षामन्त्री बनाएछ भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जत भएको छ । अर्का मन्त्री हुन् प्रेमबहादुर आले ।
आले वन तस्करीमा जोडिएका विवादास्पद व्यक्ति हुन् । मन्त्री बन्नेवित्तिकै उनले भने– अब ओली सरकार कुद्छ मात्र होइन, सात गियरमा दौडिन्छ र समुद्रमा पुग्छ । हालै उनले वन तस्करले आफूलाई एक अर्ब रुपैयाँसम्मको अफर गरेको र त्यो अस्वीकार गरेको भनेर हाक्काहाक्की सार्वजनिक गरेका छन् । जसबाट उनी वन तस्करसँग अझै बढी बार्गेनिङ गरिरहेका छन् भन्ने प्रस्ट हुन्छ ।
७० करोड बार्गेनिङ गरेको अडियो टेपकै कारण तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्री पद गुमाउनु परेको उनले बिर्से जस्तो छ । उनलाई आफूले के बोले भन्नेसमेत हेक्का हुँदैन ।
हालै आयोजित एक कार्यक्रममा उनले भने– ‘यो जनताको सरकार हो र यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने तपाईहरूले सोच्नु भएको छ भने त्यो ठूलो भूल हुनेछ’ भने ।
यतिमात्र होइन, रुखले अक्सिजन दिन्छ कि कार्बनडाइअक्साइड दिन्छ भन्ने सामान्य ज्ञानसमेत मन्त्री आलेमा देखिएन । उनले ‘रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई हामी अक्सिजन दिन्छौं, भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
श्रेष्ठ र आलेले सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिका आधारमा नेपाली जनता कस्ता मन्त्रीबाट शासित भइरहेका छन् भन्ने विश्वले थाहा पाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।