काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आफ्ना सबै केन्द्रीय सदस्य र सांसदहरूलाई ‘हाईअलर्ट’ रहन कडा निर्देशन दिएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै जुनसुकै बेला पनि आवश्यक पर्ने भएकाले केन्द्रीय सदस्य र सांसदहरूलाई अलर्ट बस्न निर्देशन दिइएको हो ।
यसअघि नेपाली कांग्रेसले समेत सबै सांसदलाई काठमाडौं नछाड्न र सम्पर्कमै बस्न निर्देशन दिएको थियो ।
प्रचण्ड–नेपाल पक्षले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई केन्द्रीय कार्यालयको तर्फबाट म्यासेज पठाएर र केहीलाई फोनबाट समेत कडा निर्देशन दिएको छ ।
कार्यालयबाट गरिएको खबरअनुसार बिहीवार दिउँसो १ बजेभित्र पेरिसडाँडास्थित पार्टी कार्यलयमा जम्मा हुन तथा आसपासमा रहन निर्देशन दिइएको छ । अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान समेत निर्देश गरिएको छ ।
‘पार्टीले जुनसुकै बेला खोज्नसक्ने भएकाले अलर्ट बस्न भनिएको हो । अरु विषय खुलाइएको छैन,’ एक केन्द्रीय सदस्यले भने, ‘पार्टी कार्यालय पुगेपछि नै थाहा होला ।’
सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि नेकपा विवाद सडकबाट संसद र निर्वाचन आयोगसम्म पुगेको छ । नयाँ सत्ता समीकरण, पार्टीको आधिकारिकता लगायतका विषयमा नेकपाको प्रचण्ड–माधव पक्षले पार्टीभित्र र अन्य पार्टीसँग पनि छलफल र संवाद गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने अनुमान विपरीत ओलीले राजीनामा नदिएपछि नयाँ सरकार गठनमा अवरोध सिर्जना भएपछि विपक्षी दलहरू मिल्ने संकेत देखिएको छ । यस्तो बेला प्रचण्ड माधव पक्षले ओलीलाई सत्ताच्युत गराउन संसदबाटै प्रक्रिया अघि बढाउनुपर्ने बाध्यता छ भने अर्कोतिर पार्टीको वैधानिकता पाउन निर्वाचन आयोगलाई झक्झक्याउनु परेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।