आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा फेरि प्रधानमन्त्री बन्दा रामचन्द्र पौडेललाई के घाटा ? भित्रभित्रै लुकेको यत्रो डर !

देउवा फेरि प्रधानमन्त्री बन्दा रामचन्द्र पौडेललाई के घाटा ? भित्रभित्रै लुकेको यत्रो डर !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 7.7K
    SHARES

  • देउवा फेरि प्रधानमन्त्री बन्दा रामचन्द्र पौडेललाई के घाटा ? भित्रभित्रै लुकेको यत्रो डर !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ ।

    २ पक्षमा बाँडिएको नेकपा कानूनी रुपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि मुख्य भूमिकामा पुग्ने छ ।

    नेकपाभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ, स्पष्ट भइनसके पनि कांग्रेसभित्रको सत्ता राजनीतिले पार्टीका शीर्ष नेताहरु सरकारमा सहभागिताको पक्ष–विपक्षमा उभिएका छन् ।

    नेकपाभित्रको आन्तरिक विवाद २ वर्षअघि जस्तै अचानक एकतामा परिणत भए कांग्रेस फेरि पनि कमजोर प्रतिपक्षीको भूमिकामा रहने छ । तर कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने र टिकिराख्ने रणनीतिका कारण शीर्ष नेताहरु अहिले नै सरकारमा सहभागिताबारे पक्ष–विपक्षमा देखिएका छन् ।

    सभापति शेरबहादुर देउवा नेकपा विभाजित भएको खण्डमा २ मध्ये १ पक्षसँग मिलेर सरकारको नेतृत्व गर्ने पक्षमा छन् । नेता रामचन्द्र पौडेल भने अहिले सरकारमा जान नहुने पक्षमा छन् । कांग्रेसको सहभागिता विना नयाँ सरकार गठन नै नहुने अवस्थामा नेकपाको प्रचण्ड–नेपाल पक्षसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा पौडेल र उनी निकटका नेताहरु देखिएका छन् ।

    कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आएमा संसदीय दलको नेता समेत रहेका सभापति देउवा नै मुख्य दाबेदार हुनेछन् । मुलुकको कार्यकारी प्रमुखको भूमिकामा देउवा पुग्दा भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा त्यसको प्रभाव पर्ने पौडेल पक्षधरको बुझाइ छ । त्यस्तो अवस्थामा देउवालाई पार्टी नेतृत्वबाट विस्थापन गर्न अझै कठिन हुने ठम्याइ उनीहरुको छ । त्यसैले पौडेल सहितका नेताले जनताले ५ वर्ष कांग्रेसलाई विपक्षमा बस्न जनमत दिएको बताउँदै आएका छन् । उनीहरु सरकारमा जानैपर्ने अवस्थामा नेतृत्व लिने होइन, मन्त्रीहरु मात्र पठाउने रणनीतिमा छन् ।

    सभापति देउवा नेकपा कानूनी रुपमै विभाजित भए सरकारकै नेतृत्व लिने पक्षमा छन् । तर अन्य दलको नेतृत्वमा सरकारमा सहभागी नहुने बरु फेरि पनि निर्वाचनमै जाने सोचमा देउवा रहेको उनी निकटका नेताहरू बताउँछन् । सत्ताको नेतृत्व गरेर महाधिवेशनमा जाँदा पार्टी नेतृत्वमा पुग्न सहज हुने देउवाको बुझाइ रहेको छ ।  

    त्यही कुरा बुधवार चितवनमा आयोजित एक कार्यक्रममा सभापति देउवा र नेता पौडेलले प्रकट गरे । पूर्व सांसद एकनाथ रानाभाटको श्रद्धाञ्जलि सभामा सहभागी हुन त्यहाँ पुगेका देउवा र पौडेलले नयाँ सरकार गठन र सहभागिताबारे आपसमा फरक मत राखेका छन् । महामन्त्री शशांक कोइरालाले सरकारको विषयमा खासै प्रवेश नगरे पनि देउवा र पौडेल स्पष्ट २ धारमा देखिएका छन् ।

    प्रधानमन्त्री पदको लोभ नभएको बताउँदै कांग्रेस सभापति देउवाले जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आए नभाग्ने स्पष्ट पारेका छन् । नेता रामचन्द्र पौडेलपछि बोल्न मञ्चमा उभिएका देउवाले पौडेलले राजनीतिक कुरा उठाएकाले बोल्नैपर्‍यो भन्दै भने, ‘प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भन्या पनि छैन, आयो भने भाग्नेवाला पनि छैन म, त्यही हो । यसबाट पार्टीलाई फाइदा नै होला, राम्रो कुरा हो ।’

    नेता पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय बनाउन समेत आग्रह गर्दै देउवाले भने, ‘सानो चित्त छ रामचन्द्रजीको भन्ने मात्रै छ । त्यस्तो नगर्नुस्, राजनीतिमा के आउँछ, कस्तो आउँछ व्यहोर्दै जानुपर्छ, जिम्मेवारीबाट पन्छिनु हुँदैन ।’

    अन्य राजनीतिक दलको मान्छेभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री हुँदा कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई खुशी नै लाग्ने देउवाको तर्क थियो । ‘अरुभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री भए फाइदै होला, तपाईं पनि खुशी हुनुहोला जस्तो लाग्छ मलाई त,’ देउवाले भने, ‘शेरबहादुर हुनै हुँदैन भनेर चाहनुहुन्न होला जस्तो लाग्छ ।’

    त्यसअघि धारणा राखेका नेता पौडेलले जनताले कांग्रेसलाई विपक्षमा बस्ने जिम्मेवारी दिएको बताउँदै त्यही भूमिका निर्वाह गर्नुपर्ने तर्क गरेका छन् । आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु महत्त्वाकांक्षा हुने पौडेलले बताएका छन् ।

    ‘राजनीतिका नाममा सत्तामा पुग्नेहरुबाट जनता निराश छन् । प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डग्मगाउनु हुँदैन । त्यो निराशा हटाउन अरु दायाँबायाँ नगरी निस्वार्थ भावले कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने । लोकतन्त्रलाई बचाउन कांग्रेसले भूमिका खेल्नुपर्ने उनले बताएका छन् ।

    नेकपा विभाजित भएको अवस्थामा कांग्रेसले २ मध्ये १ पक्षसँग मिलेर संविधानको धारा ७६(२) अनुसारको सरकार गठनका लागि पहल लिन सक्ने छ । कानूनी रुपमा नेकपा विभाजन नभएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीविरुद्ध एकतिहाइ संख्या पुर्‍याएर अविश्वासको प्रस्ताव दर्ता गर्न सक्छ । तर प्रधानमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्ताव पारित भए पनि नेकपा स्पष्ट बहुमतमा भएकाले कांग्रेस संसदीय दलको नेतालाई प्रधामन्त्रीमा नियुक्त गर्न स्पष्ट संवैधानिक व्यवस्था नभएको जानकारहरु बताउँछन् ।

    ‘संविधानको धारा ७६(१) मा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने भनिएको छ,’ एक नेताले भने, ‘७६ (१) अनुसार कांग्रेससँग बहुमत छैन । ७६ (२) अनुसारको सरकार गठन गर्ने हो । त्यसका लागि नेकपा सिंगो रहेसम्म उक्त धारा पनि आकर्षित हुँदैन ।’  

    नेकपाभित्रको अहिले देखिएको विवाद छिनोफानो नभएसम्म कांग्रेसले सरकारको नेतृत्व गर्न नपाउने ती नेताले बताएका छन् । ‘नेकपाको कुरा टुंगो लाग्यो भने हाम्रो भूमिकाका विषयमा बल्ल छलफल गर्न सकिन्छ,’ उनले भने, ‘२ नेताबीचको जुहारी पार्टीको १४ औं महाधिवेशनसँग जोडिएर आएको छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend