काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको मान्छेलाई अहिले राष्ट्रपतिको लोभमा लागेको भनेर गलत प्रचार गरिएको गुनासो व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस भक्तपुरले पूर्व सभापति विश्वनाथ मिश्रको १०५ औं जन्मजयन्तीको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफू लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको बताए ।
यतिबेला कांग्रेसले कुनै पदको लोभ गर्न नहुने उनले बताएका छन् । ‘म आज तपाईंहरूलाई भन्न बाध्य छु – पहिलो राष्ट्रपति बन्ने बेलामा गिरिजाबाबुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय फेनोमेनाले राष्ट्रपति बन्न नदिएपछि तपाईं हुनुस् भनेर मलाई प्रस्ताव गर्नुभएको हो,’ पौडेलले भने, ‘गिरिजाबाबु, मलाई अझै पनि लोकतन्त्रको लागि लड्नुपर्ने काम छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन, मैदानमा बसेर लड्छु भनेर छाडेर हिँडेको थिएँ ।’
पौडेलले आफूले प्रधानमन्त्रीको अफर आउँदा पनि लोकतन्त्रको मूल्य मान्यतासँग सम्झौता नगरेको दावी गरेका छन् । ‘पहिलो संविधान सभाको अन्तिम अवस्थामा प्रचण्डले बालुवाटारमा बोलाएर रामचन्द्रजी १० राज्यको सिद्धान्त मानिदिनुस्, बाबुराम राजीनामा गर्नुहुन्छ, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भन्नुभएको थियो । मैले मानिनँ, १–१ बुँदाबुँदामा मैले लडेको हो,’ उनले भने ।
नेता पौडेलले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा अहिले कांग्रेस जान नहुने बताएका छन् । ‘मौका पायो भन्दैमा अहिले सरकारमा गएर जादु गर्न सक्छौं ? कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्छौं ? हामी प्रतिपक्षको धर्म निभाउने हो । बाग्मती, १ नम्बर होस् कि केन्द्रीय सत्ता हामी प्रतिपक्षमा हो । संसदीय प्रक्रियालाई अबरुद्ध गर्नु हुँदैन, अरु विकृतिमा चोचोमोचो मिलाउनु हुँदैन,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।