काठमाडौं - देशको मन्त्री भइसकेका व्यक्तिसँग सूचनाको राम्रै पकड हुन्छ । उनीहरू अनुमान र काल्पनिक कुराबाट टाढै रहनुपर्ने हो । तर, नेकपा ओली समूहका दुई नेता भने प्रचण्ड–माधव नेपाललाई सिध्याउन राम्रैसँग लागिपरेका छन् ।
उनीहरू हुन्, गोकुल बास्कोटा र महेश बस्नेत । बास्कोटा र बस्नेतको पहुँच बालुवाटारको किचेन क्याबिनेटसम्म रहेको मानिन्छ । ओलीको बचाउ गर्न दुवैले विभिन्न हथकण्डा प्रयोग गर्न थालेको देखिएको छ ।
बास्कोटा र बस्नेत दुवै मिडियासँग निकट छन् । बास्कोटा मिडियामा अन्तर्वार्ता दिन त्यति रुचाउँदैनन् । उनी आफ्ना मनमा लागेका कुरा लेखेर भ्रम छरिरहेका हुन्छन् । जसलाई अनलाइन मिडियाले तुरुन्तै समाचार बनाउने गरेका छन् ।
७० करोड बार्गेनिङ गरेको आरोप लागेपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका हुन् । बस्नेत चाहिँ बोलाई बोलाई पत्रकारलाई अन्तर्वार्ता दिन रुचाउँछन् । जसमार्फत ओलीको बचाउ र प्रचण्ड–माधव समूहविरुद्ध केही न केही भ्रम छरिहाल्छन् ।
बस्नेत युवा संघबाट आएका हुन् । उनी अहिले साइवर सेनाका प्रमुख पनि छन् । ओलीको बचाउ र प्रचण्ड–माधवविरुद्ध दुवै नेताले मिडियालाई प्रयोग गर्न थालेका छन् ।
मंगलबार महेश बस्नेतले प्रधानमन्त्री ओलीसँग निकट हुन चाहने सांसदले आफूसँग सम्पर्क गर्न भनेर उनले एक अनलाइनलाई अन्तर्वार्ता दिए । उनले प्रचण्ड–माधव समूहले ओलीसँग एक वर्षका लागि सत्ता सहकार्य गरौैं भनेर प्रस्ताव पठाएको भनेर भ्रम छरे ।
लगत्तै पूर्वसञ्चारमन्त्री बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले महाअभियोग ल्याउँदैछन् भनेर सामाजिक सञ्जालमा लेखे । जबकि राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने कुनै मनशाय नभएको भनेर प्रचण्डले केही समयअघि सार्वजनिक रूपमै बोलिसकेका छन् ।
तर, बास्कोटाले यस्तो लेखे– ‘नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिएसम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्ससाही बनाउनकै लागि भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन रे ! झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घोषणा नभएको रे। लौन प्रभु ! मिलाई देऊ।’
पूर्वमन्त्रीसमेत भएका व्यक्तिले रे का पछि लागेर गरेको ट्विटलाई पनि केही अनलाइनले समाचार बनाए । किनभने राष्ट्रपतिविरुद्ध महाअभियोग लाग्ने कुनै सम्भावना छैन ।
दलहरू त्यहाँसम्म पुग्ने अहिलेसम्म संकेत देखिएको छैन । तर, अरुलाई नराम्रो देखाउन र खेद्न खोज्दा यी दुवै नेताले आफ्नो क्रेडिलिविलिटी कसरी गुमाउँदै गएका छन् भन्ने दुवैले पत्तो पाएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।