काठमाडौं - सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको राजनीतिक प्रतिबन्ध हटाउने भएको छ । आजै सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्दैछन् ।
विप्लव समूहले यसअघि नै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको स्रोतले जनाएको छ ।
आज विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले इटहरीमा आमसभा आयोजना गर्दैछन् । सो आमसभाअघि नै सरकारले प्रतिबन्ध फुकुवाको घोषणा हुन सक्ने स्रोतहरूले बताएका छन् ।
सरकार र विप्लव नेकपाका नेताबीच विभिन्न माध्यमबाट वार्ता भइरहेको छ । आइतबार प्रधानमन्त्री केपी ओलीले झापामा विप्लव नेकपासँग वार्ताको तयारी भइरहेको जानकारी दिएका थिए ।
केही दिनअघि विप्लवले आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग संवाद र बार्ताको लागि सकारात्मक रहेको बताएका थिए ।
विप्लवले विज्ञप्तिमार्फत क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि संवाद र बार्ताको लागि तयार रहेको बताएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।