बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसलाई प्रधानमन्त्री दिनुभन्दा भित्रभित्रै ओली–प्रचण्ड मिलाउने खेल, यी हुन् २ विकल्प !

कांग्रेसलाई प्रधानमन्त्री दिनुभन्दा भित्रभित्रै ओली–प्रचण्ड मिलाउने खेल, यी हुन् २ विकल्प !

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 19.1K
    SHARES

  • कांग्रेसलाई प्रधानमन्त्री दिनुभन्दा भित्रभित्रै ओली–प्रचण्ड मिलाउने खेल, यी हुन् २ विकल्प !

    काठमाडौं – राजनीतिक रूपमा २ पक्षमा विभाजित भए पनि कानूनी रुपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रुपमा छ ।

    नयाँ सरकार गठन गर्न नेकपाका दुबै पक्ष निर्णायक भूमिकामा रहने छन् । संसद् पुनःस्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुबै पक्षबाट विभिन्न तरिकाका कसरत भइरहेका छन् ।

    कानूनी रुपमा फुटिनसकेकाले सत्ता समीकरणलाई कसरी अघि बढाउने भन्ने कठिनाइले दुबै पक्षलाई पिरोलेको छ ।

    नेकपा प्रचण्ड–नेपाल पक्ष खुला रूपमा सत्ता समीकरणका लागि प्रयासरत छ भने ओली पक्षले गुप्त रुपमा रणनीति तय गरिरहेको छ । प्रचण्ड–नेपाल पक्षको बिहीवार दिनभरिको कसरत हेर्दा नेकपाभित्र पुनः एकता हुनुपर्ने, एकता हुन नसके दल फुटाउने अध्यादेश ल्याएर मात्र निकास निस्कने अवस्था देखिएको छ ।

    वर्तमान अवस्थामा ओली समूहले संसदीय दलमा ४० प्रतिशत पुर्‍याए पनि केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याउन नसक्ने भएका कारण पार्टी विभाजन गर्न अध्यादेश नै ल्याउनुपर्ने अवस्था छ ।

    नेपाली कांग्रेसले नेकपा कानूनी रुपमा नफुटेसम्म सत्तामा सामेल हुने सन्दर्भमा कुनै निर्णय नलिने बताएको छ भने जनता समाजवादी पार्टीको निष्कर्ष पनि यही छ । यी २ पार्टीले निर्णय दिन नसक्नुका पछाडि नयाँ बन्ने प्रधानमन्त्रीको अनिश्चिततामै समस्या भएको स्रोतले बताएको छ ।

    नेकपा पुनः एकतामा फर्किए समस्या जसरी सरल तरिकाले हल हुन्छ, अन्य विकल्पमा जाँदा त्यति नै जटिल बन्दै जाने नेकपा ओली समूहका एक नेताले बताएका छन् । उनका अनुसार पार्टी फुटाउने अध्यादेश ल्याएपछि पनि कांग्रेससँग सत्ता समीकरण हुन्छ भन्ने निश्चितता देखिएन, त्यसैले नेकपाकै दुबै पक्ष मिलेर सरकार गठन गर्नैपर्ने अवस्था समेत आउन सक्छ ।

    जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएर जाने खेल सुरू हुन पनि सक्ने स्रोतले बताएको छ । ‘तर यो धेरै नै कम सम्भावना हो, सरकार बन्नै नसकेर प्रक्रियागत रुपमै संसद् विघटन हुने अवस्था आए मात्र यो विकल्पमा एक पटक छलफल होला,’ स्रोतले भन्यो ।

    सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै फागुन २४ गतेभित्र अधिवेशन आह्वान गर्न आदेश दिएकाले बैठक बस्नुअघि नै सत्ता समीकरणको छिनोफानो हुनुपर्ने अवस्था रहेको छ । संसद् बैठकमा पहिलो माग केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने हुने निश्चित छ । ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउने निश्चित भएपछि मात्र राजीनामा दिने स्रोतले बताएको छ ।

    प्रचण्ड–नेपाल पक्षको कसरत हेर्दा अविश्वासको प्रस्ताव आउने निश्चितप्रायः देखेर ओली पक्षले सांसद तान्न कसरत सुरू गरेको छ । ओली पक्षले हालसम्म आफ्नो पक्षमा ८९ जना सांसद रहेको दाबी गरेको छ । ‘अझै प्रचण्ड–नेपाल पक्षका ९–१० जना तान्न सके सो पक्षले कांग्रेससँग सहकार्य गरे पनि सरकार गठन गर्न सक्दैन,’ ओली पक्षका एक नेताले भने ।

    ‘अबको संसद बैठकमा मुख्य विषय अविश्वासको प्रस्ताव नै हो, प्रधानमन्त्री ओलीले बहुमत प्राप्त प्रधानमन्त्री भएको भन्दै विश्वासको मत लिने कुरा भएन, अविश्वासको प्रस्तावको अवस्थाबारे हेरिराखेका छौं,’ ओली समूहका ती नेताले भने ।

    युवा नेतृत्वबाट पार्टी एकताका लागि प्रयास पनि सुरू भएको छ । नेता बामदेव गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपाभित्रैबाट प्रधानमन्त्री खोज्न आग्रह गरिसकेका छन् ।

    प्रचण्ड–नेपाल पक्षका दोस्रो तहका नेताले पनि आलोपालो प्रधानमन्त्रीको सहमति कायम राख्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउने र महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली कायम रहने प्रस्ताव अघि सार्ने विषयमा समेत छलफल सुरू गरेका छन् ।  

    ओली पक्षका नेताहरूले पनि यसमा सहमत हुन सकिने संकेत गरेका छन् । तर प्रचण्ड–नेपाल पक्षले ओलीलाई लगाएको भ्रष्टाचारका आरोप र पार्टीको साधारण सदस्यबाट पनि निष्कासन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने ओली पक्षका एक नेताले बताएका छन् ।

    प्रचण्ड–नेपाल पक्षका नेता नारायणकाजी श्रेष्ठले ओली पक्ष आत्मालोचना गरेर आए एकताको सम्भावना हुने बताएका छन् । प्रचण्ड–नेपालले संसद पुनःस्थापनापछि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यसबाट पनि अन्ततः बाध्यतावश पुनः नेकपा एकीकरण हुन्छ कि भन्ने अनुमान गर्न थालिएको छ तर दुबै पक्षका आन्तरिक रणनीति रहस्यमय भएकाले एकअर्कालाई आशंकाको दृष्टिले भने हेरिरहेका छन् ।

    राष्ट्रपतिले वर्तमान सरकार संविधानको धारा ७६(१) बमोजिमको हो भनेर विज्ञप्तिमा उल्लेख गरेका कारण अब बन्ने सरकार धारा ७६(२) बमोजिम गठन हुनुपर्ने संविधानविदको तर्क छ । धारा ७६ (२) को सरकार गठन गर्न २ वा सोभन्दा बढी दलको समर्थन चाहिने छ ।

    संसदको अंकगणितलाई हेर्ने हो भने स्वतन्त्र सांसद छक्कबहादुर लामा नेकपामा आएपछि प्रतिनिधि सभामा उसको सांसद संख्या १७५ पुगेको थियो । सभामुख नेकपाकै छन् । सांसद सानु सिवाको निधनपछि १ पद खाली छ । अहिलेको अवस्थामा १७३ जनाले मतदान गर्न पाउने छन् । जसमध्ये प्रचण्ड–नेपाल पक्षमा ९२ र ओली पक्षमा ८१ जना रहेको दाबी गरिएको छ ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि भने दुबै समूहभित्र ८–९ जनाको घटबढ हुने देखिएको स्रोतले बतायो । ओली पक्षले पछिल्लोपटक आफ्नो पक्षमा ८९ जना पुगेको दाबी गरेको छ । ओली समूहका एक नेताले भने, ‘कतै पनि नखुलेका सांसदलाई यतिबेला कुन पक्ष लिने दोधार परेको छ ।’

    कांग्रेसका ६३ जना सांसद रहेकोमा २ जना निलम्बनमा छन् । जनता सामाजवादी पार्टीका ३४ सांसद भएकोमा २ जना निलम्बनमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका १–१ सांसद छन् । संसदमा बहुमत पुग्न १३८ मत आवश्यक रहेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend