काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ला इलाममा २५ परिवारका नेकपा कार्यकर्ता पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
खनाल निर्वाचित भएको इलाम क्षेत्र नम्बर १ का नेकपा कार्यकर्ताहरू पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस माइजोगमाई–५ सोयाङ वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माइजोगमाइ–५ का २५ घरपरिवार कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसमा प्रवेश गर्नेहरूमा राम मादेन, कुमार सुन्दास, अमर थेवे, कल्पना कुँइकेल, चन्द्र साँवा लगायत रहेका छन् । नवप्रवेशीलाई नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खादा लगाएर स्वागत गरिएको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी र साहना प्रधानले प्रशिक्षण गरेका इलामका पुराना कम्युनिस्ट कार्यकर्ता अब नेकपाबाट केही नहुने, सधै ढाँट्ने, जनतालाई झुक्याउने, चुनावमा आएर विश्वस्त पार्ने तर सिन्को नभाँच्ने भन्दै कांग्रेस प्रवेश गरेका बताइएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई यतिका वर्षसम्म जिताएर पठाउँदा समेत इलामले केही नपाएको बताउँदै नवप्रवेशीहरूले अब कांग्रेसबाट मात्रै आशा बाँकी रहेको बताए । कम्युनिस्टले पदको लोभ, विवाद र झगडा गरेर गाउँ विकासमा समय नदिएको नवप्रवेशीको आरोप रहेको छ ।
युवा नेता खड्काले सम्पूर्ण नवआगन्तुकलाई स्वागत गर्दै इलामको दुःखसुखमा हरपल साथ दिने बताएका छन् । कम्युनिस्टहरूले चुनावका बेला मात्रै ठूल्ठूला कुरा गर्ने र सरकारमा पुगेपछि केही काम नगरेर जनतालाई धोका दिएको नेता खड्काले बताएका छन् ।
‘कांग्रेस बोलेको कुरा गर्छ, नगर्ने कुरा कांग्रेसले बोल्दैन,’ नेता खड्काले भने, ‘कांग्रेसले बेइमानी गर्नु, भ्रष्टाचार गर्नु, जनतालाई धोका दिन सिकेको छैन ।’

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य हुकुम थेवेले नेपाली जनताले ५ वर्षका लागि दिएको बहुमतलाई नेकपाले कुर्सीको स्वार्थमा लागेर नेपाली जनतालाई बन्धक बनाएर अस्थिरतातर्फ लगेको बताएका छन् ।
कार्यक्रममा पूर्व जिल्ला कोषाध्यक्ष श्याम खड्गीले स्थानीय सिद्धदेवी आधारभूत विद्यालय र अन्य विद्यालयका विद्यार्थीलाई कापीवितरण गरेका थिए । नवप्रवेशीलाई स्वागतपछि ५ जना गरीब दुःखीलाई नेता खड्काले ब्ल्यांकेट वितरण गरेका छन् । क्यान्सर पीडित दलबहादुर थलाङ लिम्बु र मिर्गाैला पीडितलाई घरमा पुगेर उनले बिरामी हेरेपछि परिवारमार्फत ५ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरेका छन् ।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।