काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि भाबी राजनीतिक समीकरणबारे अनेक अड्कलबाजी भइरहेका छन् । तर सबैतिर एउटै समानता छ – सबैलाई नेपाली कांग्रेसको सहयोग चाहिएको छ ।
चुनावमा जनताले झण्डै दुईतिहाइ बहुमत दिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पदको झगडा र भागबण्डामा डुबेर अगाडि बढ्नै नसक्ने अवस्थामा पुगेर विभाजित भएको छ । तर कानुनी रूपमा विभाजित भइसकेको छैन ।
चुनावमा सहकार्य गरेका नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगसँगै हिँड्नै नसक्ने अवस्थामा पुगेका छन् । प्रचण्डले जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाइछाड्ने लक्ष्य लिएका छन् भने ओली आफू प्रधानमन्त्री भइरहँ भन्ने चाहन्छन् । यस्तै पदको झगडामा ओली र प्रचण्डले जनताका सपनाको बलि चढाएका छन् ।
झगडामा रुमल्लिएका ओली र प्रचण्ड एक्लाएक्लै सरकार बनाउन नसक्ने र मिल्न पनि नसक्ने भएपछि अब कांग्रेसतिर मुख ताक्न थालेका छन् । तर कांग्रेस नेकपाको झगडाको बीचमा पर्न चाहँदैन । कांग्रेसले चुनावमा सरकारमा जाने जनमत प्राप्त नभएको, जनताले कांग्रेसलाई प्रतिपक्षमै राख्न चाहेको राम्ररी बुझेको छ । तसर्थ कांग्रेस सत्ता झगडा र स्वार्थबाट अलग छ ।
सत्ता सहकार्यका लागि नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आग्रह गरेपछि कांग्रेसले यसबारे छलफल गरेको छ । अर्काेतिर प्रधानमन्त्री ओलीले समेत देउवालाई सत्ता सहकार्यका लागि ‘अफर’ गरेका छन् ।
बिहीबार बसेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सत्तारुढ नेकपा विभाजनको कानूनी टुंगो नलागेसम्म कसैसँग सहकार्य नगर्ने निष्कर्ष निकालेको छ । कांग्रेसको यस्तो एकै निर्णयले ओली र प्रचण्ड दुबैतिर धक्का लागेको छ । कांग्रेसको साथ पाउने आशामा रहेका दुबै पक्ष ट्वा परेका छन् ।
बैठकमा नेताहरुले सरकार समीकरणका सम्भावना र सहकार्यका विकल्पबारे छलफल गर्न नहुनेमा जोड दिएका छन् । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा नयाँ राजनीतिक घटनाक्रमबारे छलफल भएको र अहिले नै नयाँ सरकारका लागि सहकार्य गर्नेबारे केही निर्णय नभएको जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै कांग्रेस सरकारमा जानु ठूलो गल्ती हुने र पार्टीलाई दीर्घकालीन रूपमा हानी हुने बताएका छन् । महाधिवेशनमै केन्द्रित हुनुपर्नेमा पौडेलले जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएमा वा उनलाई अविश्वासको प्रस्तावबाट हटाइएमा नयाँ सरकार निर्माणमा कांग्रेसको भूमिका महत्त्वपूर्ण हुने छ । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री बन्न १३८ सांसदको समर्थन चाहिन्छ । नेकपाका १७३ जना सांसद छन् । एउटा पद रिक्त रहेको छ । कांग्रेसका ६३ र जसपाका ३४ सांसद रहेका छन् । नेकपाका विभाजित पक्ष र जसपा मात्रै मिलेर सरकार बनाउने सम्भावना सहज नभएकाले नेपाली कांग्रेसको भूमिका अनिवार्य भएको छ ।
विवादमा मुछिएको नेकपाका कुनै पनि गुटसँग सहकार्य नगर्नेबारे नेपाली कांग्रेसले निर्णय गरेपछि कार्यकर्ताहरू खुसी भएका छन् । कांग्रेसका कार्यकर्ताले कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने, सत्ताको खेलमा लाग्न नहुने र बरु आगामी चुनावमा केन्द्रित हुनुपर्ने सुझाव दिँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।