काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका सांसदहरुलाई राजधानी काठमाडौं उपत्यका नछाड्न कडा निर्देशन दिइएको छ ।
सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका छन् ।
उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी पार्टीमा दिन समेत निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरूलाई समेत तत्काल काठमाडौं बोलाइएको छ ।
अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरू सहभागी रहेका थिए । बुधवारको बैठकमा नपुगेका अरु सांसदहरूलाई तत्काल उपत्यकामा बोलाइएको छ ।
मंगलवार संसद् पुनःस्थापना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छाडेर बुधवार काठमाडौं आएका हुन् । काठमाडौ आएलगत्तै २ अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र गरेका छन् ।
काठमाडौंका बूढानिलकण्ठ नै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्ड र माधव नेपालले छलफल गरेका छन् । यसपछि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकेर संसदीय दलको बैठक बोलाइएको थियो ।
सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री छान्ने प्लान बनिरहेको नेकपा स्रोतले जनाएको छ । यसका लागि प्रचण्डले देउवाको सहयोग खोजेका छन् भने आफ्ना सांसदलाई सतर्क अवस्थामा राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।