काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना गरेपछि नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हौसिएका छन् ।
गृहजिल्ला चितवनमा रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् । यसअघि नै प्रचण्डले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै आफू प्रधानमन्त्री बन्न खोजेका थिए ।
प्रचण्डलाई प्रधानमन्त्री बन्न हतारो भएको देखेर ओलीले अकस्मात संसद विघटन गरेका थिए । सर्वाेच्चले संसद पुनःस्थापना गरिदिएपछि प्रचण्डको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस्,’ प्रचण्डले भनेका छन् ।
सर्वोच्चको प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णयले नेपाली जनताको जीत भएको उनले बताए । प्रचण्डले जीतका लागि नेपाली बौद्धिक, न्यायाधिक समुदायसँगै संविधानविद् र कानूनविद्लाई धन्यवाद दिएका छन् ।
प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा सबै पार्टी पंक्तिलाई देशभर खुसीयाली मनाउन अपिल समेत गरेका छन् ।
नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई भ्रमबाट मुक्त भएर आँखा खोल्न सुझाव दिएका छन् । प्रतिनिधिसभा विघटन गलत भएको कुरा सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएपछि नेपालले ओलीलाई अब भ्रमबाट मुक्त हुन सुझाव दिएका छन् ।
‘केपीजी अब आँखा खोल्नुहोस्, भ्रमबाट मुक्त हुनुहोस्,’ नेपालले भने । अब देश उज्यालोमा फर्किएको र सत्यको जीत भएको नेपालले बताएका छन् ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ ।
संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।
सर्वोच्च अदालतले फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । राष्ट्रपतिले आगामी बैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् । तर अदालतले त्यसलाई बदर गरिदिएको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित कानून व्यवसायीले १३ वटा रिट सर्वोच्च अदालतमा दायर गरेका हुन् । सर्वोच्चमा परेका रिटमाथि पुस ८ गतेदेखि सुनुवाइ भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।