काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर कमजोर परेका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारकै मन्त्रीहरूले साथ छाड्ने भएका छन् ।
गृहजिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवा गाउँ निवासमा पत्रकारसँग कुरा गर्दै ओली सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चुनावमा आफ्नो छुट्टै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले फागुनभित्र दल गठन भइसक्ने बताएका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी ओली नेतृत्वको तत्कालीन एमालेबाट चुनाव लडेर जितेका थिए । मन्त्री त्रिपाठीले तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए ।
नयाँ खोल्ने पार्टीको नाम स्वतन्त्र राजनीतिक समूहलाई नै रुपान्तरण गरेर गठन गर्ने त्रिपाठीले बताए । आफ्नो पार्टीमा विघटित प्रतिनिधि सभाका केही सांसद् र तत्कालीन तमलोपाका अधिकांश नेताहरू आउने तरखरमा रहेको त्रिपाठीले बताएका छन् ।
‘हामीले गठन गर्ने दलमा विघटित प्रतिनिधि सभाका केही सदस्यहरू आउने छन् । उनीहरू संसद् पुनःस्थापना सम्बन्धीको फैसला कुरेर बसेका छन् । अर्को समूह भनेको तत्कालीन तमलोपाका नेताहरू हुन् । तमलोपाका ८० प्रतिशतभन्दा बढी नेताहरू आउने तयारीमा छन् । अन्य राजनीतिक दलका नेताहरूसँग पनि कुराकानी भइरहेको छ,’ उनले भने ।
तमलोपा ब्युँताउन लागेको भन्ने टिप्पणीबारे त्रिपाठीले दुष्प्रचार मात्र भएको प्रतिक्रिया दिएका छन् । नयाँ दलको गठन गर्नुपर्ने आवश्यकताबारे त्रिपाठीले वर्गीय आधारलाई अन्य दलले समेट्न नसकेकाले त्यसैको प्रतिनिधित्वलाई समेट्ने बताएका छन् ।
‘हाम्रो वर्गीय आधार भनेको किसान र साना व्यवसायी हुन् । जुन अहिलेका राजनीतिक दलको प्रतिनिधित्वमा परेका छैनन् । अर्को राजनीतिक आधार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिबद्धतासहित विद्यमान विभेदको अन्त्यसहित मूलरूपमा राजकीय सत्ता र सार्वभौमसत्ता जनतामा निहित हुने मान्यताका साथ दल गठन हुन्छ,’ त्रिपाठीले भनेका छन् ।
वैशाखमा चुनाव हुने/नहुने भन्नेबारे सर्वोच्चको फैसला र निर्वाचन आयोगमा नेकपाको आधिकारिकता निष्कर्षपछि टुंगो लाग्ने समेत मन्त्री त्रिपाठीले बताए ।
चुनावअघि दल दर्ता नभए फेरि सूर्य चिह्न वा नेकपाको कुनै समूहको चिह्न लिएर चुनाव लड्ने कि भन्ने पत्रकारको जवाफमा उनले भने, ‘सूर्य त आफैं फ्रीज हुन्छ कि कता जान्छ भन्नेमा नेकपाकै नेताहरूले बुझेका छैनन् । तत्कालीन अवस्थामा आफ्नै पार्टीबाट धोखा खाएर बाध्यतावश तत्कालीन एमालेसँग २ बुँदे सहमति गरेर चुनावी तालमेल गरेका हौं । अब आफ्नै दल गठन गरेर नयाँ मूल्य मान्यताका साथ चुनाव लड्छौं ।’
सरकारमा सँगै रहेपनि ओलीले मन्त्री त्रिपाठीबाट आगामी चुनावमा साथ नपाउने भएका छन् । प्रचण्ड–नेपाल पक्ष छुट्टिएर गएपछि नेकपा ओली पक्ष आफैंमा कमजोर भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।