काठमाडौं - नेकपा विभाजन भएको दुई महिनाभित्रै प्रधानमन्त्री केपी ओलीले अर्को संकटको सामना गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
प्रचण्ड र माधवकुमार नेपाललगायतलाई पार्टीमा बस्नै नसक्ने अवस्था बनाइदिएका ओलीले गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्टलगायतका नेता पनि गुमाउने प्रबल सम्भावना देखिएको छ ।
प्रधानमन्त्री ओलीले पूर्वमाओवादी लडाकु र पूर्वमाओवादीका नेताहरुलाई आफ्नो समूहमा स्पेस दिने तयारी गरिरहेका थिए । तर, उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङलगायतका कारण बादल नेतृत्वमा रहेको पूर्वमाओवादी खेमा चिढिएको छ ।
स्रोतका अनुसार यदि बादललाई ओलीपछिको वरीयतामा नराखे जुनसुकै बेला विद्रोह हुने सम्भावना रहेको छ । ओलीको कार्यशैलीबाट आजित भए पनि बादल बाहिर केही बोल्ने अवस्थामा छैनन् ।
ओलीले आफूलाई दिएका बचन कुनै पनि पूरा नगरेको बादलको भनाइ छ । ओलीले वामदेव गौतमलाई बोलाएर आफूतिर खुल्न आह्वान गरेपछि बादल तनावमा परेका छन् । तैपनि ओलीविरुद्ध विद्रोह गर्ने हैसियत र ल्याकत भने उनको छैन ।
‘ओलीजीले मलाई धेरै कुरामा फसाएका छन्, अब त म न घरको न घाटको हुने अवस्था आयो’ बादलले आफू निकटहरुसँग भन्न थालेका छन् । आफूनिकट सबै केन्द्रीय नेताहरुलाई छाडेर ओली गुटमा समाहित भएका बादल विस्तारै गल्न थालेका छन् ।
खासगरी पार्टी भित्रको जिम्मेवारी बाँडफाँट, राजनीतिक नियुक्ति र वरियताका विषयमा बादलले ओलीसँग असन्तुष्टि जनाएका छन् । बागमती प्रदेशको पुनर्गठन तथा युवा संघमा देखिएको ओली पक्षको एकलौटीका कारण बादलले अब धेरै समय सहयोग गर्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए ।
बादललाई सुरुमा ओलीले आफूपछिको वरियतामा राख्ने वचन दिएका थिए । तर उक्त वचन अहिलेसम्म पूरा भएको छैन । बरु पोखरेलको कार्यकर्ताका रुपमा व्यवहार गर्न थालिएको गुनासो उनको छ ।
त्यसैले पूर्वमाओवादी पक्षका मन्त्रीहरुसँग सामूहिक रुपमै छलफल गरी अगाडि बढ्ने योजनामा बादल रहेको निकट स्रोतको भनाइ छ । ओलीले पार्टी विभाजनपछि पूर्व माओवादी पक्षका बादल, रायमाझी, थापाका साथै, प्रभु साह,लेखराज भट्ट, दावा तामाङ र गौरीशंकर चौधरी रहेका छन् ।
पार्टी विभाजनसँगै ओलीले मौजुदा केन्द्रीय कमिटी विस्तार गरी झण्डै १५ सय पुर्याए । त्यसमा बादलको भागमा केवल २२ जना मात्र परेका छन् । राजनीतिक नियुक्तिका सन्दर्भमा पनि ओलीले बादल पक्षलाई समेट्ने वचन दिएका थिए ।
सोही अनुरुप ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरियो । आयोगको अध्यक्ष वा विज्ञ सदस्यहरुमा भागबण्डा मिलाउने वचन ओलीले दिएका थिए । तर गठन गर्दा बादल पक्षका एक दुईजनावाहेक कोही परेका छैनन् ।
यसले पनि बादललाई चिन्ता थपेको छ । व्यक्तिगत रुपमा ओलीसँग बार्गेनिङ गर्दा कमजोर बन्ने देखिएकाले सामूहिक रुपमै जाने मनस्थितिमा रहेका छन् । यस प्रयोजनका लागि उनले मन्त्रीहरु रायमाझी र थापासँग अनौपचारिक छलफल गरेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।