काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार रुपन्देहीमा आयोजित विरोध सभामा बोल्दै प्रतिनिधिसभा संसद विघटन भएको ६ महिनाभित्र मध्यावधि निर्वाचन भइसक्नुपर्ने भएकाले निर्वाचन आयोगले चुनावमा लाग्नुपर्ने अभिव्यक्ति दिए ।
सभापति देउवाले चुनाव हुनुपर्छ के भनेका थिए, जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन नराम्ररी पोल्यो ।
उनले देउवाको बोली सञ्चारमाध्यममा बढ्ने बित्तिकै ट्विटरमा लेखे, ‘आफूलाई लोकतन्त्रको पर्याय ठान्ने र संविधान सभाबाट संविधान जारी गरेको जस लिन होडबाजी गर्ने नेका संविधानका हत्यारा ओलीसँगै सती जान लागेकै हो ? संविधान/लोकतन्त्र मासेर सर्वसत्तावादलाई वैधता दिने जुनसुकै चुनावमा हामफाल्ने हो भने बीपीले पञ्चायती चुनाव किन बहिष्कार गरेका होलान् ? नेका कता ?’
ओलीसँग सरकारमा सत्ताको स्वाद लिएका उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेका र केही समय सत्तारुढ सांसद नै बनेका डा. बाबुरामले ३ वर्ष नै प्रमुख प्रतिपक्षी दल बनिरहेको कांग्रेसमाथि प्रश्न गरेका छन् ।
यसअघि समेत डा. बाबुराम भट्टराईले कांग्रेसमाथि प्रश्न र शंका गर्दै आएका छन् । तर उनी स्वयं गत निर्वाचनमा नेपाली कांग्रेसको भोटका कारण गोरखाबाट चुनाव जितेका थिए ।
देउवाले सोमबार रुपन्देहीमा भनेका थिए, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ? अदालतको निर्णय पर्खने काम आयोगको होइन । आयोगले ६ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्यो । संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ । तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन ? जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ । तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन । बदमासी गर्न सक्छ आयोगले । किन बोल्दैन निर्वाचन आयोग ? शंका गर्नुपर्ने बेला भएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।