काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेत्री रामकुमारी झाँक्रीलाई सरकारले पक्राउ गर्दा आफूले प्रेस विज्ञप्ति निकालेको बताउँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल पक्राउ पर्दा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ कहाँ थिए भनेर प्रश्न गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेकपाको एउटा गुट मात्रै भएकाले कांग्रेसले गुटसँग संयुक्त आन्दोलन नगर्ने बताए ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर हामीले पुस ५ गते नै निर्णय गरिसकेका छौं र विज्ञप्ति जारी गरेका छौं । प्रचण्ड र माधव नेपालहरूले अपील गरिरहनुभएको छ । तर हामी संयुक्त आन्दोलन गरिरहेका छैनौं किनकि पहिलो उहाँहरू नेकपा नै हुनुहुन्छ, एउटा सरकारमा छ, एउटा सडकमा छ । एउटा समूहले सरकार चलाइरहेको छ, नेकपाको अर्को गुटसँग आन्दोलनमा जान सक्दैनौं । संयुक्त हुनको लागि पूर्वशर्त जरुरी छन्,’ शर्माले भने ।
प्रवक्ता शर्माले प्रचण्ड–नेपाल पक्षमाथि प्रश्न गरे, ‘हिजो सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बेला प्रचण्ड–नेपाल बोल्नुभयो कि भएन ? डा. गोविन्द केसीको माग उल्ट्याउँदै विधेयक पारित गर्न संसदमा मार्सल लगाएर पास गर्दा उहाँहरू हुनुहुन्थ्यो कि थिएन ? सरकारले गुठीको जग्गा कब्जा गर्न थालेको बेला गुठी विधेयकको विरुद्धमा हामी बोल्दा प्रचण्ड र माधव नेपाल उभिनुभएको थियो कि थिएन ? यो बेलामा संयुक्त आन्दोलनमा जाने भन्दै गर्दा आत्मआलोचित हुनुपर्यो ।’
प्रवक्ता शर्माले सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याए कांग्रेस सामाजिक सञ्जाल प्रयोगकर्ताको पक्षमा उभिने समेत बताए । ‘होसियार सरकार, नेपाली कांग्रेस फेसबुक चलाउने युवाको पक्षमा उभिन्छ । ट्विटर चलाउने युवाको पक्षमा उभिन्छ,’ प्रवक्ता शर्माले भने, ‘सामाजिक सञ्जालमा सरकारका कमीकमजोरीको विरोध गर्नेको मुखमा लगाम लगाउनुअघि आफ्नो हातमा लगाम लगाऊ ।’
सरकार लामो समयदेखि संसदमा विचाराधीन अवस्थामा रहेको सूचना प्रविधिसम्बन्धी विधेयकमा गरिएको व्यवस्था समेटेर सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याउने तयारीमा लागेको छ । निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीहरू अनिवार्य रूपमा ३ महिनाभित्र सरकारी निकायमा दर्ता हुनुपर्ने जनाइएको छ ।
विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याए वा होच्याए ५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने प्रावधान रहेको छ । सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, भ्रमित पार्ने आशयले सन्देश सम्प्रेषण गरे ५ वर्षसम्म कैद, १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान समेत राखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।