काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक भेला, छलफल र गुटबन्दी चर्किंदै गएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले निम्त्याएको राजनीतिक संकटका कारण महाधिवेशन हुने/नहुने निश्चित छैन ।
महाधिवेशन अनिश्चित भएका बेला आवश्यक रणनीति तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिको छुट्टै भेला गर्न खोजेको थियो । भेलाका लागि पौडेल पक्षले फागुन ५ गतेको मिति तोकेर सबैतिर खबर गरिरहेको थियो ।
फागुन ७ गतेका लागि तोकिएको महाधिवेशन नहुने पक्का भएपछि पौडेल पक्ष छुट्टै रणनीति बनाउनतिर लागेको हो । तर पौडेलले भेला गरेर गुट बलियो बनाउन खोज्दा सभापति शेरबहादुर देउवाले यति ठूलो काउन्टर दिएका छन् कि पौडेलको प्लान चौपट भएको छ ।
पौडेल पक्षले फागुन ५ गते छुट्टै भेला गर्न खोजिरहेका बेला सभापति देउवाले फागुन ५ गते नै केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । अब पार्टीको आधिकारिक बैठकसँग पौडेल पक्षको भेला जुधेको छ । पार्टी बैठकसँग भेला जुधेपछि भेला प्रभावित हुने भएको छ ।
पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नभएर छुट्टै गुटगत भेलातिर लाग्ने नैतिक अवस्था रहँदैन । तसर्थ पौडेल पक्षको गुट बनाउने योजना चौपट हुने भएको छ ।
वरिष्ठ नेता पौडेलसहित उनी पक्षका नेताहरुले शनिबार महामन्त्री शशांक कोइराला निवासमा भेला गरेर सभापति देउवालाई दबाब दिन जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेका थिए । तर भेला गर्नुअघि नै देउवाले पार्टी बैठक बोलाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले फागुन ५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति रहने भएको छ ।
पौडेल पक्षले समेत आफ्नो भेलामा केन्द्रीय सदस्यहरु, पूर्व केन्द्रीय सदस्यहरु र पूर्व मन्त्रीहरुलाई बोलाएको थियो ।
तोकिएकै मितिमा महाधिवेशन हुने अवस्था नभएकाले सभापति देउवाले अब कार्यकाल थप गर्न संविधानको सहारा लिनुपर्ने भएको छ । देउवाले अब ६ महिना कार्यकाल थप गर्न सक्नेछन् । सभापति देउवाको कार्यकाल यसै फागुन १९ गते सकिँदैछ ।
सभापति देउवाको नियमित कार्यकाल गत वर्ष फागुनमा सकिएको थियो । विधानअनुसार उनले १ वर्ष कार्यकाल थपेका थिए । कोरोना महामारी र क्रियाशील सदस्यता वितरणका काम नसकिएको भन्दै कांग्रेसले महाधिवेशन कहिले गर्ने सुनिश्चित गर्न नसकेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।