काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेका बेला छलफल गरी आवश्यक रणनीति तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिको छुट्टै भेला बोलाउने भएको छ ।
फागुन ७ गतेदेखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे नेताहरुसँग परामर्श गरिसकेका छैनन् ।
पौडेलसहित उनी पक्षका नेताहरुले शनिवार महामन्त्री शशांक कोइराला निवासमा भेला गरी सभापति देउवालाई दबाब दिन जिल्ला सभापतिको भेला गर्ने निर्णय गरेका हुन् ।
पौडेलले महाधिवेशन लगायतमा छलफल गर्न केन्द्रीय कार्यसमिति बोलाउन देउवासँग माग गरे पनि केन्द्रीय समिति बैठक बस्ने टुंगो लागेको छैन ।
फागुन ५ गते जिल्ला सभापतिहरु र जिल्लाका नेतासँग छलफल गर्ने तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । छलफलमा केन्द्रीय सदस्यहरु, पूर्व केन्द्रीय सदस्यहरु र पूर्व मन्त्रीहरुलाई समेत बोलाइने जनाइएको छ ।
सभापति देउवाले केन्द्रीय समिति नै नबोलाएर विज्ञप्ति जारी गर्दै कार्यकाल थप गर्ने सम्भावना बढेको भन्दै दबाब दिन लागिएको नेताहरूले जनाएका छन् ।
सभापति देउवाले अब कार्यकाल थप गर्न संविधानको सहारा लिनुपर्ने भएको छ । उनले अब ६ महिना कार्यकाल थप गर्न सक्नेछन् । सभापति देउवाको कार्यकाल फागुन १९ गते सकिँदैछ ।
सभापति देउवाको नियमित कार्यकाल गत वर्ष फागुनमा सकिएको थियो । विधानअनुसार उनले १ वर्ष कार्यकाल थपेका थिए । कोरोना महामारी र क्रियाशील सदस्यता वितरणका काम नसकिएको भन्दै कांग्रेसले महाधिवेशन कहिले गर्ने सुनिश्चित गर्न नसकेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।