काठमाडौं – लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन नेपाली कांग्रेस तयार देखिएको छ । तर व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले जनाएको छ ।
बुधवार नेकपाको प्रचण्ड–नेपाल पक्षबाट खुला सभाबाटै नेपाली कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएका छन् ।
‘संविधानको रक्षाका लागि २०४६ र २०६२/६३ मा पनि कांग्रेसले नेतृत्व लियो, फेरि पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै हाल एक्लै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । सो सन्दर्भमा वरिष्ठ नेता पौडेलले संयुक्त आन्दोलनका लागि कांग्रेस तयार नभएको नभई समय मात्रै कुरेको बताएका छन् ।
‘संयुक्त आन्दोलनका लागि अहिले अलिकति बेला भएको छैन भनेको हो, कांग्रेस आन्दोलनका लागि तयार नै नभएको होइन, कुन कम्युनिस्ट कता लाग्छन् कांग्रेसलाई त्यता चासो छैन, कांग्रेसलाई संविधान र लोकतन्त्रको चासो र चिन्ता छ,’ उनले भने । कांग्रेस नेता गोपालमान श्रेष्ठले मुलुकको अवस्थाअनुसार परिआए कांग्रेस संयुक्त आन्दोलनमा जाने बताए ।
‘अहिले कम्युनिस्ट एक छन्, एउटाले अर्काको आलोचना मात्रै गरेका छन्, भोलि परिस्थिति कस्तो बन्छ, परिआए कांग्रेसले आन्दोलनको नेतृत्व गर्छ,’ उनले भने । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले हालसम्म नेकपा एकै रहेकाले संयुक्त आन्दोलन हुन नसकेको बताएका छन् ।
‘उहाँहरुको पार्टी एउटै छ, आन्दोलन कुन पार्टीसँग मिलेर अनि कोसँग गर्ने भन्ने कुरा आउँछ, व्यक्तिसँग मिलेर गर्ने कि पार्टीसँग अन्योल छ, त्यही कारण संयुक्त आन्दोलन हुन सकिरहेको छैन,’ कांग्रेस सहमहामन्त्री महतले भनेका छन् ।
बुधवारको विरोध सभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र संघीयतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी कांग्रेसलाई आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हेरर नबस्न आग्रह गरेका थिए ।
‘गिरिजाबाबले नेतृत्व गर्नुभएको कांग्रेसकै नेतृत्वमा लोकतन्त्र आयो, संविधान सभामा सुशील कोइरालाले नेतृत्व लिनुभयो संविधान आयो, गणतन्त्र र संघीयता पनि कांग्रेसकै नेतृत्वमा आयो । त्यसबेला कांग्रेसका सभापति शेरबहादुर देउवाजी पनि कही न कही हुनुहुन्थ्यो, अहिले संविधानको हत्या हुँदा भ्रममा परेर कांग्रेस बस्न मिल्छ ? कांग्रेसलाई यो अवसर हो, हामी हातेमालो गर्न तयार छौं,’ कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गर्दै प्रचण्डले भने ।
विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेकपा अध्यक्ष नेपालसहित नेताहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले समेत कांंग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गरेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।