काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको निरंकुशता परास्त गर्ने आन्दोनलमा आउन खुट्टा नकमाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदमको विरोधमा बुधवार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसलाई विरोधमा आउन आग्रह गरेका छन् ।
‘लोकतान्त्रिक आन्दोलनका नेताको छवि बनाएको नेपाली कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरू अब कुनै भ्रममा पर्न आवश्यक छैन,’ उनले भने, ‘कन्फ्युजन पनि हुन पर्दैन, हामी सबैले भनेकै छौं । शान्ति सम्झौताको हस्ताक्षर गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो र संविधान सभाबाट पहिलो संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने काम पनि प्रधानमन्त्रीको रूपमा गिरिजाप्रसाद कोइरालाले गरेको हो ।’
प्रचण्डले संयुक्त आन्दोलन गर्नेबारे नेपाली कांग्रेसले अनिच्छा देखाएकोप्रति संकेत गर्दै नेपाली कांग्रेसका सबै नेता कार्यकर्ताले कांग्रेस नेताहरूले गरेको योगदानको स्मरण गर्न आग्रह गरेका छन् ।
‘कांग्रेस नेता कार्यकर्ताले पनि सम्झनु भएकै होला यो कुरा । अनि यही संविधान हो, जुन संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिनु हुँदैन भनेर बनाइयो त्यो संविधान बनाउने बेलामा पनि कांग्रेसकै नेता सुशील कोइराला हुनुहुन्थ्यो,’ उनको भनाइ छ ।
प्रचण्डले भने, ‘कांग्रेसजनले बडो चलाखीका साथ सुशील कोइरालालाई ‘फादर अफ कन्स्ट्च्यिुसन’ भनेका छन्, अहिले गिरीजाबाबु पनि हुनुहुन्न, सुशील पनि हुनुहुन्न, अहिले शेरबहादुरजी हुनुहुन्छ । तपाईं शान्ति सम्झौता गर्ने, संविधानसभा गर्ने, संविधान निर्माणमा तपाईं पनि नेता हो । यसको घात हुँदाखेरी त्यो लोकतान्त्रिक पार्टीले अब संयुक्त आन्दोलन गर्ने, केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने र देशमा लोकतन्त्र खतरामा छैन भनेर पुष्टि गर्ने बेला कांग्रेसलाई यो अवसर हो ।
प्रचण्डले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई अपिल गर्दै आन्दोलनको अवसर गुम्न नदिन आग्रह गरेका छन् । ‘हामी तपाईंहरूसँग हातेमालो गर्न तयार छौं,’ प्रचण्डले भने ।
प्रचण्डले लोकतन्त्र, संविधान र गणतन्त्रका निम्ति छिमेकी देशहरूलाई पनि लोकतान्त्रिक आन्दोलनको पक्षमा सद्भाव राख्न अपिल गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।