काठमाडौं - ‘स्वतन्त्रताको उपभोग गर्ने नाममा कुनै दर्ताविनै फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमको विकृति रोक्न छिट्टै हामी सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारी गरिरहेको जानकारी गराउन चाहन्छौँ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले बोलेका वाक्य हुन् यी ।
मन्त्रीको यो अभिव्यक्तिले केपी ओली सरकार अब जनताको मुख थुन्न अग्रसर भएको देखिन्छ । प्रतिनिधिसभा भंग गरेर जनमतको अपमान गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूमाथि तीव्र विरोध भएपछि सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिक ल्याउन खोजेका छन् ।
कम्युनिस्ट सरकार कतिसम्म तानाशाही बन्छ भन्ने उदाहरण उत्तर कोरियाका किम जोङ उनले देखाएका छन् । त्यस्तो दृश्य नेपालमा पनि देखिँदैछ ।
तीन वर्षअघि निर्वाचनताका तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए– ‘कम्युनिस्ट सरकार आएमा रुन पनि पाइँदैन ।’ देउवाको यो अभिव्यक्तिलाई धेरै बुद्धिजीवीले मजाक उडाए ।
कांग्रेसमै पनि उनलाई उल्ल्याउने काम भयो । चार चारपटक देशका प्रधानमन्त्री भइसकेका देउवाले जानेबुझेरै सो कुरा भनेका थिए । तर, कसैले गम्भीर ढंगले लिइदिएनन् ।
देउवाले तत्कालीन एमाले र माओवादी केन्द्र मिल्दा उनीहरूले झन्डै दुई तिहाइ बहुमत ल्याउने र आफू अनुकूल कानुन बनाएर कम्युनिस्ट तानाशाही लाद्ने भित्री कुरा बुझेका थिए । त्यही भएर उनले देशभर कांग्रेसको चुनावी सभामा जाँदा कम्युनिस्टलाई विश्वास नगर्न आग्रह गरेका थिए । तर, स्थिर सरकारका नाममा कांग्रेसलाई पाखा लगाउन एउटा ठूलै गिरोह कांग्रेसविरुद्ध जनमत निर्माण गर्न लाग्यो ।
चुनावपछि केपी ओली प्रधानमन्त्री बने । ओली प्रधानमन्त्री बनेको आगामी फागुन ३ गते तीन वर्ष पुग्दैछ । यसबीचमा ओलीले निर्वाचनका माध्यमबाट कसरी तानाशाही लाद्ने भन्ने गरेरै देखाएका छन् ।
पार्टीको किचलो मिलाउन नसक्दा प्रतिनिधिसभा भंग गरिदिए । राज्यका अंगहरूमा कब्जा गरेका छन् । आफू अनुकूल हिँडाउन सबैलाई तर्साउन छाडेका छैनन् । संविधान र कानुनविपरीत हिँडेका छन् ।
जनताबाट तिरस्कृत हुँदै जाँदा उनले आफ्नो पक्षमा भजन गाउन र विपक्षीविरुद्ध खनिन महेश बस्नेतको नेतृत्वमा साइवर सेना गठन गरेका छन् । अब त सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका नै ल्याएर आममानिसको मुख थुन्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।