धनगढी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता लेखराज भट्टले मदन भण्डारीको हत्यामा जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य बाहिर नआएको दाबी गरेका छन् ।
ओली पक्षको प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले दरबार हत्याकाण्डको प्रतिवेदनजस्तै अमर लामा मारिएको प्रतिवेदन समेत सार्वजनिक नभएको जानकारी दिए ।
‘मदन भण्डारीको हत्या षड्यन्त्रमा कहीँ न कहीँ केपी ओलीको हात छ भनेर बाहिर हल्ला फिजाइएको थियो । पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा माधव नेपाल हुनुहुने रहेछ,’ मन्त्री भट्टले भने ।
मन्त्री भट्टले मदन भण्डारी हत्यासँग जोडिएका अमर लामाको मृत्यु पनि रहस्यमय रहेको बताएका छन् । ‘अमर लामाको चाहिँ हत्या कसरी भयो ? त्यसमा खासै कुरा बाहिर आएको छैन । मदन भण्डारीसँगै भएको जीवित मान्छे अमर लामा थिए । पछि उनलाई हाम्रै माओवादी साथीहरूले समाते । भाग्न खोज्दा मर्यो भनेको छ । मारियो । तर यथार्थ के हो अहिले पनि आएको छैन,’ मन्त्री भट्टले भने ।
पार्टी विभाजनमा प्रधानमन्त्री ओली नभएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको दोष रहेको बताउँदै भट्टले मदन भण्डारी हत्या प्रसङ्ग निकालेका हुन् ।
मन्त्री भट्टले नेकपा विभाजन हुनुमा नारायणकाजी श्रेष्ठको मुख्य भूमिका रहेको आरोप समेत लगाएका छन् । ‘अहिले जुन फुट पैदा भएको छ, सकुनी भनेपनि हुन्छ, नारायणकाजीको महत्त्वपूर्ण भूमिका छ । उनी यस्तो खेलमा निकै पारखी छन्,’ मन्त्री भट्टले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।