काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नारायणहिटीको प्रांगणअघि गरेको आमसभापछि प्रधानमन्त्री केपी ओलीको ओठतालु सुकेको बताएका छन् ।
प्रतिनिधिसभा विघटन गरेर अपराध गरेपछि आफ्नो बचाउमा लागेका ओली त्यो सफल हुन नसकेपछि उनको ओठतालु सुकेको पौडेलको भनाइ छ ।
गृहजिल्ला तनहुँको दमौलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘प्रधानमन्त्री र उहाँका वकिलको पनि ओंठतालु सुकेको छ । उहाँले असंवैधानिक काम गर्नुभयो, यस कदमलाई वैधानिक सिद्ध गर्न ज्यान फालेर लागे पनि नहुने भएपछि उहाँ चिन्तित हुनु भएको छ ।’
ओलीका वकिलले संसद् विघटनबारे सर्वोच्चमा स्पष्ट तर्क दिन सकेका छैनन् । उनीहरूले एउटै मात्र रटान प्रधानमन्त्रीको संसद् विघटन गर्ने विशेषाधिकार रहेको बताउँदै आएका छन् ।
संविधानलाई कमजोर बनाएर देशलाई विदेशीको क्रिडास्थल बन्न नदिनको लागि पनि कांग्रेस सचेत हुनुपर्ने पौडेलले दाबी गरे । ‘संविधानको रक्षाको लागि प्रधानमन्त्रीले पद छोडेर भए पनि संविधानको रक्षा गर्नुपथ्यो तर उहाँले मनपरी रूपमा संसद् भंग गर्नु गलत भयो,’ पौडेलले भने ।
सत्तरी वर्षको संघर्षमार्फत संविधान बनाएर देशले विकास र निकासको बाटो लियो भन्ने जनतामा आशा थियो त्यो भरोषा प्रधानमन्त्रीले चकनाचुर पारेको पौडेलले आरोप लगाए ।
‘झन्डै दुई तिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कारणले संसद विघटन गर्नु दुःखद् छ,’ पौडेलले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।