काठमाडौं – केही दिनअघि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका खानेपानी मन्त्री मणि थापाले ‘श्री ५ सरकार’ भनेपछि सामाजिक सञ्जालमा आलोचना भयो । तर उनी बोल्दाबोल्दै चिप्लिएको हुनसक्ने अनुमान धेरैले लगाए ।
तर राजाको प्रचार गर्ने विषयमा ओली सरकारका मन्त्री चिप्लिएका मात्रै होइन, ओली सरकारका मन्त्री योजनावद्ध प्रचारमा लागेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले माघ २३ गते काठमाडौंमा आयोजना गरेको जनसभाको प्रचारप्रसारका क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले एउटा भिडियो सार्वजनिक गरेका छन्, जसमा नेकपा एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीको आवाज सुन्न सकिन्छ ।
महासचिव भण्डारीले त्यतिबेला गरेको चुनावी भाषणलाई समावेश गरेर बनाइएको भिडियोमा उनले राजा रहने परम्पराको कुरा गरेका छन् । भण्डारीले भनेका छन्, ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन, किन ठूलो आपत्तिको कुरा हुने छैन भने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’
त्यतिबेला काठमाडौंको चाबहिलमा आयोजित सभामा स्व. भण्डारीले भाषण गरेका थिए । जसको अंशलाई अहिले मन्त्री श्रेष्ठले प्रचार गरिरहेका छन् । ओली पक्षको जनसभाको प्रचारप्रसारका क्रममा मदन भण्डारीको आवाजसहित राजा रहने परम्परामा आपत्ति नहुने कुरा प्रचार गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेकपा ओली पक्षले नारायणहिटी दरबार अगाडि माघ २३ गते जनसभा आयोजना गरेको छ ।
यस्तो छ श्रेष्ठले सार्वजनिक गरेको भिडियो –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।