काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय महामन्त्री दिपक भट्टराईले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सपना मात्रै देखाएर मुलुकलाई उल्टो दिशामा हिँडाएको बताएका छन् ।
ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस नुवाकोटका भातृ संस्थाहरूद्वारा त्रिशुली बजारमा आयोजित संयुक्त विरोध सभाका विशेष अतिथि तथा महामन्त्री भट्टराईले ओली सरकार अधिनायकवादतिर लम्किएको बताए ।
‘कांग्रेसले सबैभन्दा प्राथमिकता लोकतन्त्र, गणतन्त्र, शान्ति र संविधान हुँदै स्थायी सरकारलाई दियो, त्यसकै जगमा समृद्धिको नारा दिएर केपी ओलीको नेतृत्वमा दुईतिहाइको सरकार बन्यो,’ महामन्त्री भट्टराईले कार्यक्रममा भने, ‘कम्युनिस्ट नेता ओलीले मुलुक स्थायित्वतिर जान्छ भनेर सपना मात्रै देखाए, मुलुक उल्टो दिशामा हिँड्यो, अधिनायकवादतिर लम्कियो ।’
कोरोना भाइरस संक्रमणको संकटका बेला पनि कम्युनिस्ट सरकार र मन्त्रीहरू पैसा कमाउनमै उन्मुख रहेको आरोप उनले लगाए ।

‘कम्युनिस्ट पार्टी उम्लिएर पोखियो, नेपाली जनताले लोकतन्त्रका लागि ७ दशक खर्चिए, समृद्धिका लागि लडे तर निरंकुश कम्युनिस्ट शासनले आफ्ना लागि मात्र सोच्यो, मुलुकको विकासका लागि सोचेन, यसकारण हामी दरिद्र भयौं,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।