काठमाडौं - प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशका बहुसंख्यक नागरिक सडकमा छन्। विपक्षी दलहरु पनि सडकमा छन्।
सत्तारुढ दल विभाजन भएर अर्को पक्ष पनि सडकमै छन् । कलाकार, स्रष्टा, अधिकारकर्मी, वकिल सबै आन्दोलित छन् । तर, सत्ताधारी जमातले प्रधानमन्त्रीकै नेतृत्वमा कार्यकर्ता सडकमा उतार्दै छ ।
जनतालाई एक अर्कासँग भीडाउँदैछ । त्यो पनि नारायणहिटी दरबारको पटागिंनीमा। सेनाको ताहुरमाहुर पनि सडकमा देखिँदैछ । यसले देश उत्तर कोरिया बन्ने त होइन भन्ने आशंका गर्न थालिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन त्यहाँका सर्वोच्च शासक हुन् । उनको विरोध गर्नेको कुनै खैरियत रहँदैन । नेपालमा पनि ओली जमातले त्यस्तै गर्न लागेका छन् ।
कोरोना भाइरसका कारण एक वर्षदेखि नेपालको अर्थतन्त्र ठप्प छ । सबै क्षेत्र प्रभावित बनेको छ । तर, सत्तारुढ दल कुर्सी लडाइँमै व्यस्त देखियो ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरिदिए । र, निर्वाचन घोषणा गरे । संविधानमा अर्को सरकार बन्ने अवस्था भएसम्म संसद् विघटन गर्न नपाउने व्यवस्था छ ।
त्यसबारे सर्वोच्च अदालतमा बहस जारी छ । देश अहिले संसद् पुनःस्थापना कि निर्वाचन भन्नेमा बाँडिएको छ । यसबीचमा प्रधानमन्त्री ओलीका अस्वाभाविक गतिविधि देखिएका छन् ।
राज्यका सबै अंग आफ्नो नियन्त्रणमा लिन व्यवस्थापिका संसद् तगारो हुन्थ्यो । उनले त्यो भंग गरिदिए । अध्यादेशबाट संवैधानिक अंगमा नियुक्ति गरेका छन् ।
त्यो भोलि माघ २० गते ४५ दिन पुग्दैछ । ओलीले संविधानविपरीत तिनलाई सपथ खुवाउने तयारी गरेका छन् । र, आफ्ना विरोधीलाई तह लगाउन भ्रष्टाचारको मुद्दा लगाउने विश्लेषण गर्न थालिएको छ ।
देशलाई फेरि समृद्धिमा ल्याउन भन्दै उनले दुई तिहाइ माग गर्दै निर्वाचनमा मुलुकलाई धकेलेका छन् । त्यसैले यसपटक उनले हिन्दुवादी कार्ड खेलेका छन् ।
त्यसका लागि उनले मठमन्दिरको संरक्षण, तिनका अनुयायीलाई संरक्षण गर्ने, पशुपतिनाथ मन्दिरमा पूजाआजा मात्र गर्ने होइन, पशुपतिमा जलारी राख्न डेढ अर्ब खर्च गर्दैछन् ।
देशका नागरिक कोरोनाको उपचार नपाएर भकाभक मरिरहेका छन् । खान नपाएर सडकमै मरिरहेका बेला प्रधानमन्त्रीलाई भने मन्दिरमा सुनको जलारी राख्ने चिन्ता देखिएको छ । ओली अहिलेकै अवस्थामा अघि बढे देश फासिवादको दिशामा जाने भन्दै दलका नेताहरुले चिन्ता गर्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।