काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले न्याय माग्दा अदालतको अवहेलना हुने भए मुद्दा लगाउन सुझाव दिएका छन् ।
पूर्व प्रधानन्यायाधीशहरुले अदालतको ‘अ’ पनि उच्चारण नगर्दा १ हप्ताभित्र आफैं उपस्थित भएर लिखित बयान पेश गर्न भनिएको प्रसंग उल्लेख गर्दै नेता थापाले न्याय माग्दा अदालतको अवहेलना नहुने तर्क गरे ।
शुक्रबार काठमाडौंको शान्तिबाटिका प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आयोजना गरेको विरोध सभामा थापाले संविधानमाथि घात भएकाले सबै एकजुट हुनुपर्ने बताएका छन् ।
‘न्यायको पक्षमा बोल्दा अवहेलना हुने भए हामी सबैलाई अवहेलना मुद्दा लगाइयोस् श्रीमान्,’ उनले भने । थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई संविधानमाथि घात भएको टिप्पणी गरे ।
संविधानलाई ट्रयाकमा फर्काउँदै व्यवस्था जोगाउनुपर्ने समय आएको नेता थापाले बताए । ‘यो प्रतिनिधि सभाको होइन, संविधानकै विघटन हो,’ थापाले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले जस्तै जनताको अधिकार खोसेको थापाले आरोप लगाए ।
‘तपाईंको नाम अधिकार खोस्ने शासकका पंक्तिमा लेखिने छ,’ नेता थापाले भने, ‘जनताका अधिकारका लागि लड्नेहरुको पानामा तपाईंको नाम भेटिँदैन ।’
नेपाली कांग्रेसले चुनावको हिसाबको कुरा गरेर बस्न नहुने थापाले बताए । व्यवस्था बचाउन लागे पछि हुने चुनावमा कांग्रेसले जित्ने पनि उनले बताएका छन् ।
उनले अदालतबारे बोल्दैनौं भन्नेहरु कायर भएको पनि बताए । ‘बीपीका कार्यकर्ता रामशाहपथ र अदालत देखेर परपर भाग्ने ? ती कायर हुन्,’ थापाले भने ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।