काठमाडौं - कुनै पनि देशको प्रधानमन्त्रीको काम भनेको जनताको आशा अपेक्षा पूरा गर्नु, विश्वका अन्य देशसँग कूटनीतिमार्फत आर्थिक सहयोग भित्र्याउनु, सरकारी काममा ढिलासुस्ती भए कारबाही गर्ने, आर्थिक अनियमितता भए कारबाही गर्ने, विकासका योजना चाँडो पूरा गर्न लगाउनेलगायत हुन् ।
संविधान र कानुनको रक्षा गर्ने दायित्व पनि प्रधानमन्त्रीकै हो । कुनै एक दलबाट निर्वाचित भए पनि प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि ऊ सबै जनता र देशको हुन्छ । पार्टीको हितभन्दा माथि उठ्नुपर्छ ।
तर, वर्तमान प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म आफूलाई नेकपाको एउटा गुटको भन्दा अरुको प्रधानमन्त्री बनेर देखाउन सकेका छैनन् । त्यसैले उनी अरुको उछितो काढ्नमै व्यस्त छन् ।
तर प्रधानमन्त्री ओलीबाट माथि उल्लिखित एउटा विषय पनि पूरा हुन सकेको छैन । उनले गर्न सकेका छैनन् । कुनै पनि विकास योजना पूरा गर्न सो विषयमा विज्ञता आवश्यक पर्छ । तर, ओली अरुको विज्ञता देखिसहँदैनन् । बुद्धिजीवीलाई लाञ्छना लगाउँछन् ।
संविधानकै हुर्मत लिन्छन् । अरु पार्टीले गरेका विरोध प्रदर्शनलाई देखाउन सरकारी ढुकुटी दुरुपयोग गर्न खुलेआम चुनौती दिन्छन् । दुई तिहाइ निकट बहुमत पाएर प्रधानमन्त्री बनेका ओलीबाट नेपाली जनताले विकास र सुशासनको अपेक्षा गर्नु अब बेकार भएको छ ।
अनिश्चितकालसम्म प्रधानमन्त्री बन्न प्रतिनिधिसभा विघटन गरेका ओलीले अब देश र जनतालाई विकास र सुशासन होइन, जुलुस र सभा देखाइदिने भएका छन् ।
नेकपा (माधव–प्रचण्ड) समूहको माघ ९ गतेको जुलुस र आमसभादेखि तर्सिएका ओलीले माघ २३ गते त्योभन्दा पनि ठूलो जुलुस र आमसभा गरेर देखाइदिने घोषणा गरेका हुन् ।
यस्तो घोषणा पनि उनले पार्टीको कार्यक्रममा होइन, सशस्त्र प्रहरी बलको वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन् । कतिसम्म भने ओलीले जुलुस र आमसभा आठ दस हजारको होइन, विशाल मानिस ल्याएर देखाइदिने उनले बताएका छन् । जसअनुसार अहिले उनका कार्यकर्ता माघ २३ मा ठूलो आमसभा हुने भन्दै प्रचारमा व्यस्त देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।