काठमाडौं – प्रतिनिधिसभा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले बिहीवार स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ ।
सोही क्रममा कांग्रेसले बिहीवार देशभरका सबै ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले वडा तहमा हुने विरोध सभामा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तासहित सबैमा अपिल गरेका छन् । ‘अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाद्वारा जारी अपिलमा उल्लेख छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकूल र जनभावनाविपरीत कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ ।’
पार्टीका सबै तहका नेताहरुलाई सहभागी हुन आग्रह गर्दै देउवाले भनेका छन्, ‘समस्त लोकतन्त्रवादीहरुलाई बिहीवारको विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गर्दछु ।’
संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले पुस १३ गते प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेश सभाका ३३० निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।