काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएका १ नम्बर प्रदेशका कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईलाई सहयोग पुग्ने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट अभिव्यक्ति दिएपछि एकछिन छलफलमा सन्नाटा छायो ।
यो दृश्य हो, देउवा निवास बूढानिलकण्ठमा भएको १ नम्बर प्रदेशबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलको । प्रदेश सरकारमा सत्ता समीकरण फेरबदल भइरहेका बेला कांग्रेसले समेत आन्तरिक छलफल चलाएको छ ।
प्रदेश सरकार गठनमा कुन पक्षलाई सघाउने भनेर निर्णय लिनुअघि सभापति देउवाले पार्टीभित्र अनौपचारिक छलफल अगाडि बढाएका छन् । छलफलमा देउवाले प्रचण्ड–नेपाल पक्षले १ नम्बर प्रदेश सभामा राखेको अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले मतदान नगर्ने संकेत गरेका छन् । मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्तावमा भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
नेताहरूसँगको छलफलमा सभापति देउवाले अविश्वास प्रस्ताव पारित गरेर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।
देउवाले आचार्यलाई कांग्रेसप्रति अनुदार नेताको रूपमा चित्रण गर्दै उनलाई कांग्रेसले सहयोग गर्न नसक्ने जनाएका छन् ।
देउवाले बैठकमा भनेको कुरा उदृत गर्दै एक नेताले भने, ‘भीम आचार्य कांग्रेस विरोधी मान्छे हो । उसले कांग्रेसलाई धेरै दुःख दिएको छ । हामीले कसरी मुख्यमन्त्री बनाउनु ?’
सभापति देउवाको भनाइले कांग्रेसले अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्नेछ । जसले गर्दा मुख्यमन्त्री शेरधन राई कायमै रहनेछन् । यसरी सभापति देउवा भित्रभित्रै मुख्यमन्त्री राईको समर्थनमा देखिएका छन् ।
नेपाली कांग्रेस स्रोतका अनुसार सभापति देउवाले १ नम्बर प्रदेशमा राईलाई नै मुख्यमन्त्री कायमै राख्दै बागमती प्रदेशमा कांग्रेसको मुख्यमन्त्री बनाउन चाहेका छन् । यसका लागि देउवाले प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग मिल्ने रणनीति लिएको जनाइएको छ ।
छलफलमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे, गुरुराज घिमिरे लगायतले प्रतिपक्षी दल हुनुका नाताले कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने सुझाव दिएका थिए । तर सभापति देउवाले बैठकमा भीम आचार्यलाई कांग्रेस विरोधी भन्दै अनपेक्षित जवाफ दिएपछि नेताहरू जिल्ल परेका थिए ।
बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशमा दर्ता भएका अविश्वास प्रस्तावबारे पार्टीले नीतिगत निर्णय लिनुपर्ने सुझाव राखेका थिए ।
जवाफमा सभापति देउवाले बागमती प्रदेशका नेताहरूसँग छलफल गरेपछि पार्टीले उचित निर्णय लिने जानकारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।