काठमाडौं - झन्डै दुई तिहाइ बहुमतको प्रतिनिधिसभा भंग गरेर आमजनताको नजरमा गिरेका प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा मुछिएका आफू निकट नेताहरूलाई धमाधम चोख्याउन लागेका छन् ।
भ्रष्टाचार हुन दिन्न भन्ने तर भ्रष्टाचार गर्नेकै वरिपरि रमाउने ओलीले अहिलेसम्म एकजनालाई पनि कारबाही गर्न सकेका छैनन् । उनको सरकारमा जो जो आर्थिक अपराधमा मुछिएका छन्, तिनलाई चोख्याउन भने उनले छाडेका छैनन् । दुई वर्षअघि वाइडबडी खरिद काण्डमा तत्कालीन रवीन्द्र अधिकारी मुछिए ।
तर, ओलीले भ्रष्टाचार नभएको भन्दै ठाडै इन्कार गरे । जबकि संसदको सार्वजनिक लेखा समितिलेसमेत भ्रष्टाचार भएको ठहर गरेको थियो । बालुवाटारको जग्गा व्यक्तिगत बनाउने विष्णु पौडेललाई ओलीले अर्थमन्त्रीकै पुरस्कार दिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन बार्गेनिङ गरेका गोकुल बास्कोटालाई जोगाउन ओलीले अख्तियारमा सेटिङ मिलाइसकेका छन् । सांसद अपहरण काण्डमा मुछिएका आफ्ना सांसद महेश बस्नेत र किसान श्रेष्ठलाई उनले उन्मुक्ति दिएका छन् ।
हुँदा हुँदा स्वास्थ्य सामग्री खरिद काण्डमा मुछिएका ईश्वर पोखरेल र भानुभक्त ढकाललाई समेत उन्मुक्ति दिन लागिएको छ । मेडिकल सामान खरिद अनियमितताजोडिएका तत्कालीन स्वास्थ्यमन्त्री भानुभत्तm ढकाल र तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल अख्तियारको कारबाहीबाट जोगिने भएका छन् ।
ओम्नीसँग सम्वन्धित मेडिकल सामान खरिद अनियमितताको छानबिन गरिरहेको अख्तियारले मन्त्री ढकाल र उपप्रधानमन्त्री पोखरेलसँग बयान नै नलिई अनुसन्धान टुंग्याउने तयारी गरेको हो ।
मेडिकल सामग्री खरिदमा अनियमितता गरेको पाइएपछि नेपाली सेनाको दबाबमा पोखरेलको रक्षा मन्त्रालय खोसेर प्रधानमन्त्री ओलीले आफैं राखेका थिए । पोखरेललाई अहिले विनाविभागीय उपप्रधानमन्त्री बनाइएको छ ।
तर, ढकाललाई भने बढुवा गरेर पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । ढकाल स्वास्थ्यमन्त्री हुँदा उनकै प्रत्यक्ष निगरानी र निर्देशनमा स्वास्थ्य सामग्री खरिदको काम भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।