काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा सशक्त आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमवार उनकै निवास बोहोराटारमा भेटेर अदालतलाई जोडेर निर्वाचनको विरोधमा नउभिन आग्रह गरेका छन् ।
पौडेलसँग करीब १ घण्टा कुराकानी गरेपछि देउवाले केन्द्रीय कार्यसमितिको बैठक समेत १३ गतेलाई सारेका छन् ।
यसअघि पुस २७ गते बस्ने बैठक माघ ६ गते बोलाइएको थियो । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ भइरहेका बेला प्रश्न उठ्न सक्ने भन्दै पार्टीको बैठक सारिएको नेपाली कांग्रेस स्रोतले जनाएको छ ।
पछिल्ला दिनमा पार्टी नेतृत्वको भूमिकाको समेत चर्को आलोचना गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बोल्दै आएका पौडेललाई देउवाले तटस्थ राख्ने प्रयास गरेको जनाइएको छ ।
यसअघि महामन्त्री शशांक कोइरालालाई २ पटक निवासमै बोलाएर निर्वाचनको विरोध नगर्न आग्रह गरेका थिए ।
‘प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सबैलाई एकपटक बोलाएर कुराकानी गर्नेबारे छलफल भएको थियो,’ देउवानिकट स्रोतले भन्यो, ‘त्यसअन्तर्गत भेट भएको हो ।’
देउवाले पौडेलसँग प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्ने तर निर्वाचनको विरोध गर्न नहुने बताउँदै आएका थिए ।
माघ ३ गतेको पार्टीको विरोध प्रदर्शनका क्रममा चितवन पुगेर पौडेलले नेतृत्वलाई चुनाव–चुनाव नभन्न आग्रह गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताएका थिए । देउवासँगको भेटमा पनि पौडेलले प्रतिनिधिसभा पुनःस्थापनाकै लाइन पार्टीले लिनुपर्ने बताएका थिए ।
‘अहिलेको राजनीतिक विषय, पार्टी महाधिवेशन, प्रदेश सरकारलगायत विषयमा छलफल भयो,’ पौडेलले भने, ‘सभापतिजीले कुरा राख्नुभयो । मैले संविधानविपरीतको कदम सच्याउने लाइन कांग्रेसले लिनुपर्ने बताएँ ।’
सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशन र अहिलेको राजनीतिक घटनाक्रमको विषयमा पार्टीभित्र अन्योल नहोस् भनेरै सभापतिले वरिष्ठ नेतासँग छलफल गरेको बताएका छन् । ‘पार्टीभित्र सद्भाव बढाउन पनि पौडेल दाइलाई भेट्नुस् भनेर सुझाव दियौं, उहाँले पौडेल साथी नै हो, किन नजाने भन्नुभयो,’ महतले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना भए पनि/नभए पनि असंवैधानिक कदम भनेर पार्टीले विरोध प्रदर्शन गरिरहेकै छ । अदालतको निर्णयलाई सभापति र वरिष्ठ नेताले नमान्ने भन्नुभएको छैन । नेकपाकै प्रचण्ड र माधव नेपालले पनि नमान्नुहोला भन्ने लाग्दैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।