काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सूर्यले दिनमा उज्यालो बनाउने भएकाले दिनमै रात पार्ने कम्युनिस्टहरूलाई सूर्य चिह्न दिन नमिल्ने बताएका छन् ।
नेपाली कांग्रेस खिजिदेम्बा गाउँपालिकाले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध लोकतान्त्रिक संविधान रक्षाका पक्षमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खतिवडाले २०७४ सालको निर्वाचनमा २ वटा कम्युनिस्ट एक भएकोजस्तो नाटक गरेर देश र जनतालाई समेत ढाँटेको आरोप लगाए ।
कम्युनिस्टहरूले प्रधानमन्त्री र मन्त्री हुने तथा तलबभत्ता खाने र भ्रष्टाचारबाहेक अरु कुनै काम नगरेको आरोप समेत लगाए ।
जनताले झण्डै दुईतिहाइ बहुमत दिँदा पनि केही गर्न नसकेको कम्युनिस्ट सरकारले फेरि दुईतिहाइको लागि चुनाव घोषणा गरेको भन्नु सरासर झूट रहेकाले कोही पनि भ्रममा नपर्न उनले आग्रह गरे ।
कार्यक्रममा पार्टी विभाजनसँगै झगडा गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेसले भव्य स्वागत गरेको छ ।

तत्कालीन नेकपा एमालेबाट नेता क्षेत्रबहादुर परियार, वडा नम्बर १ सदस्य कमल सुनुवार, चर्चित नेता सुरेश सुनुवार, वडा नम्बर २ सदस्यका उम्मेदवार लालबहादुर तामाङ, संगठित सदस्य सन्तबहादुर बुढा, वीरबहादुर तामाङ र कृष्णबहादुर खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पूर्व नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ३ वडा सदस्य उम्मेदवार विष्णु श्रेष्ठ र पूर्व माओवादी अध्यक्ष निधिभक्त सुनुवार, चण्डेश्वरी माविका अखिल नेता संजिव खड्का लगायत ३६७ जनाले नेपाली कांग्रेस पार्टी प्रवेश गरेको थियो ।
नेपाली कांग्रेस पार्टी सभापति प्रदीपकुमार सुनुवारले नयाँ प्रवेशीलाई मनैदेखि स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए । नेपाली कांग्रेसले धेरै दुःख गरेर ल्याएको संघीयतालाई कुनै पनि हालतमा खेर जान नदिने उनले बताए ।

ट्रेड युनियनका पूर्व अध्यक्ष खिलानाथ दाहालले भने, ‘केपी ओलीले पुस ५ गते जुन रूपमा देशलाई अँध्यारोतिर लगेको छ, त्यसविरुद्ध नेपाली कांग्रेसले यसको विरोध सधै गर्नेछ । कम्युनिस्टले देशलाई पूरै भ्रष्टाचारमा डुबाएकाले यो सरकारको अराजकताको परास्त गर्न जुन रूपमा तपाईंहरूले नेपाली कांग्रेसलाई विश्वास गरेर आउनुभयो, यो विश्वासलाई मर्न दिइने छैन ।’
नेविसंघ ओखलढुंगाका अध्यक्ष रोशन महतराले संसद विघटन कदमविरुद्ध संसद रक्षाका लागि नेपाल विद्यार्थी संघ सधै लड्ने उद्घोष गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।