काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गरेर बैशाखमा निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने बताएका छन् ।
पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा शहीद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीवार सम्बोधन गर्दै सभापति देउवाले पछिल्लो समय अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई सदर गरेको खण्डमा बैशाखमा निर्वाचन नहुने आशंका बढेको बताए ।
‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र बैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी नेपाल देशमा बस्न सक्ने स्थिति रहँदैन,’ सभापति देउवाले भने ।
संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप खेपिरहेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सभापति देउवाले निशाना प्रहार गरे । देउवाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अदालतलाई नै प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’ सभापति देउवाले सोधे ।
सभापति देउवाले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताए । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे बोल्न नमिल्ने बताउँदै देउवाले ओली न्यायिक स्वतन्त्रताको खिलापमा उत्रिएको आरोप लगाएका छन् ।
‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन्, संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो,’ सभापति देउवाले भने ।
अदालतलाई प्रभावमा पार्न खोजेमा हिसाबकिताब जनताले गर्ने देउवाको दाबी छ । ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् । सर्वोच्चलाई प्रभावित पार्न खोजे जनताले सजाय दिनेछन्,’ देउवाले भने ।
देउवाले कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकाले सडकबाट अदालतको विरोध नगर्ने र अदालतको निर्णयको पर्खाइमा रहेको समेत बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।