काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।
प्रचण्ड–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनर्स्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका छन् ।
बुधवार साँझ ६–८ बजेसम्म राजधानी काठमाडौंमा देउवासँग भएको गोप्य भेटमा प्रचण्ड र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका हुन् । देउवाले प्रचण्ड–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका छन् ।
प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताएका छन् ।
त्यसपछि प्रचण्डले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चुनावको वकालत गर्दा लोकतन्त्र नै धरापमा परेको भनाइ राखेका छन् ।
प्रचण्ड र नेपालले ओलीको असंवैधानिक कदमको साझेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आग्रह गरेको स्रोतको भनाइ छ । उनीहरूले संयुक्त मोर्चा बनाएर सँगै आन्दोलनमा जान पनि देउवालाई प्रस्ताव गरेका थिए । तर देउवाले सकारात्मक जवाफ नदिएपछि अब कस्तो परिस्थिति आउँदा कुन हिसाबले सहकार्य गर्ने भनेर कुराकानी भएको छ ।
‘पहिले त प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलनको आँधीबेहरी नै ल्याउनुपर्छ भन्नेबारेमै हाम्रो नेतृत्व केन्द्रित भयो, त्यसमा देउवाजीको पनि समर्थन थियो,’ नेकपा उच्च स्रोतले भन्यो, ‘त्यसपछि हाम्रा अध्यक्षद्वयले आन्दोलनमा तपाईंको समर्थन हो भने आन्दोलन कमजोर बनाउने गरी किन चुनावमा जाने कुरा गरिरहनुभएको छ भनेर सोध्नुभएको थियो ।’
कांग्रेस सभापति देउवाको जवाफ के थियो त ? ‘हाम्रो पहिलो प्राथमिकता त प्रतिनिधिसभा पुनर्स्थापना नै हो, मैले केपी ओलीले असंवैधानिक काम गरे भनिसकेकै छु, संसद् पुनर्स्थापित होला/नहोला, त्यही भएर चुनावको तयारीमा पनि लागौं भनेको हो, प्रतिनिधिसभा पुनर्स्थापना हुन्न चुनावमा लागौं भनेको हैन, २ वटै विकल्प खुल्ला राखौं भनेको हो,’ सभापति देउवाले प्रचण्ड–नेपालसँग भनेका थिए । त्यसपछि नेकपाका अध्यक्षद्वयले अहिले प्रतिनिधिसभा पुनर्स्थापित हुन्न भन्दा पनि पुनर्स्थापनाका लागि एकजुट होऔं भनेर प्रस्ताव गरे ।
‘अनि बल्ल उहाँहरूका बीचमा प्रतिनिधिसभा पुनर्स्थापित भए के हुन्छ त भन्ने कुरा आएको थियो,’ नेतात्रय सम्बद्ध स्रोतको भनाइ छ, ‘प्रतिनिधिसभा पुनर्स्थापित भए देउवा प्रधानमन्त्री बन्न ओलीकै साथ चाहिन्छ भन्ने छैन भनेर हाम्रा तर्फबाट कुरा गयो, त्यसमा उहाँले प्रतिक्रिया दिनुभएको छैन ।’
यसअघि नेकपा एक्लैसँग सरकार बनाउन पुग्ने बहुमत भए पनि अब पार्टी विभाजन भएपछि सरकार बनाउन कांग्रेसको साथ नभई हुन्न । प्रतिनिधिसभा पुनर्स्थापित भए पनि देउवा दुवै पक्षको तानातानमा पर्ने निश्चितप्रायः छ । त्यसैले विवाद नेकपाको भएपनि शक्ति सन्तुलनको केन्द्रमा देउवा छन् ।
छलफलका क्रममा देउवाले हालसम्म नेकपा नफुटेकाले प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै एक हुने सम्भावना रहेको बताएका थिए । ‘तपाईंहरूको कुनै भर छैन,’ देउवाले प्रचण्ड–नेपालसँग भनेका थिए, ‘अहिले एकथोक कुरा गर्नुहुन्छ, भोलि अर्कैथोक गर्नुहुन्छ । पहिले पनि धोका दिनुभएकै हो ।’
जवाफमा नेकपा नेतृत्वले भने प्रतिनिधिसभा पुनर्स्थापित भएपछि ओलीसँग मिल्ने त होइन, तर ओलीसँग मिलेर प्रतिनिधिसभा पुनर्स्थापित गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।
‘प्रतिनिधिसभा पुनर्स्थापित भइसकेपछि परिस्थिति नै बदलिन्छ, मिलिराख्न जरुरी भएन तर तपाईं अहिले ओलीको पछि लागेर चुनाव कि चुनाव गर्नुभयो भने चुनाव पनि नहुने र प्रतिनिधिसभा पुनःस्थापना पनि नहुने सम्भावना धेरै रहन्छ,’ नेकपा नेतृत्वको भनाइको सार उल्लेख गर्दै स्रोतले भन्यो, ‘त्यो अवस्थामा संविधान, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि ओलीसँग मिलेर प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने स्थिति पनि आउन सक्छ । त्यतिबेला नेकपा एक पनि हुन्छ, केपी नै प्रधानमन्त्री हुन पनि सक्छन् । त्यसैले नेकपा एक भयो भने तपाईंको कारण मात्रै हुन्छ ।’ यसमा देउवाले थप प्रतिक्रिया दिएनन् ।
प्रचण्ड–नेपालले निकै अघिदेखि देउवालाई भेट्न कोसिस गरिरहेका थिए तर भेटेपछि नयाँ बबन्डर मच्चिन्छ भन्दै देउवाले टारिरहेका थिए । लगत्तै पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई गएका प्रचण्ड शनिवार फर्किए । मंगलवार पोखराको आमसभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्ड र नेपालले देउवालाई भेट्न प्रस्ताव गर्दै फोन गरेका थिए ।
फोन संवादमा पनि अहिले नभेटौं, फोनमै कुरा गरौं भन्ने देउवाको प्रस्ताव थियो । दाहालले बरु विना सुरक्षागार्ड सुटुक्क भेटौं भनेपछि देउवा भेटघाटका लागि राजी भएको र उनीहरूका बीचमा राजधानीको एक गोप्य ठाउँमा २ घण्टा संवाद चलेको देउवानिकट स्रोतको भनाइ छ ।
कामचलाउ प्रधानमन्त्री ओली र सभापति देउवाका बीचमा गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएयताका सबै राजनीतिक घटनाक्रममा संवाद र सहमति भएको थियो । प्रधानमन्त्री ओली स्वयंले पार्टी एक हुँदाको अन्तिम अर्थात् पुस १ गतेको स्थायी कमिटी बैठकमा देउवाकै सहमतिमा अध्यादेश ल्याएको बताएका थिए । ओलीले आफ्ना निकटस्थहरूसँगको संवादमा कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापित नहुने र भई नै हाल्यो भने पनि शुरूमा देउवा र त्यसपछि आफू प्रधानमन्त्री बन्ने गरी सहमति भइसकेको बताएका छन् । यसको पुष्टि गत आइतवार ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गरेका थिए ।
‘अब चुनावको माहोल तयार भइसक्यो, हामी चुनावमै जाने हो,’ रायमाझीले भने, ‘कथम् प्रतिनिधिसभा पुनर्स्थापना भयो भने पनि हामी र कांग्रेसको संयुक्त सरकार बन्छ । वर्षौंसम्म जान्छ, अर्को पक्ष हेरेको हेर्यै हो ।’ रायमाझीले कांग्रेससँग चुनावी गठबन्धन पनि हुने दाबी गरेका छन् ।
शुरूका दिनमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सडक आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस २ दिन पनि नबित्दै दुई खेमामा बाँडियो । त्यसपछि देउवाले संसद् विघटनको विरोध गरे पनि चुनावमै जानुपर्ने भएकाले त्यसको तयारी गर्नुपर्ने बताउँदै आएका छन् । उनले पार्टी बैठकमा पनि चुनाव नै हुने बताइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको एउटा समूह भने प्रतिनिधिसभा पुनर्स्थापना नभए मुलुकमा ठूलो संवैधानिक दुर्घटना हुने भन्दै अहिलेको एजेन्डा पुनर्स्थापना मात्रै हुनुपर्नेमा जोड दिइरहेका छन् ।
सडकमा रहेको कांग्रेस नै २ कित्तामा हुँदा कार्यकर्ता अलमलमा परेका छन् भने आन्दोलनरत प्रचण्ड–नेपाल पक्षले प्रस्ताव गरेको संयुक्त आन्दोलन पनि हुन सकिरहेको छैन । त्यसैले प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध छुट्टाछुट्टै आन्दोलन चलिरहेको छ ।
यिनै राजनीतिक विकासक्रमको पृष्ठभूमिमा देउवासँग भेटेका प्रचण्ड–नेपालनिकट स्रोतलाई कान्तिपुरले सोधेको थियो, ‘२ घण्टा भेट्दा देउवाको मूड कस्तो पाइयो ?’ अध्यक्षद्वयको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरूमा त उहाँ प्रधानमन्त्रीकै लाइनमा भएझैं देखिएको थियो, पछि असंवैधानिक कदमको भरिया बन्ने हो कि लोकतन्त्र र संविधानको रक्षाका लागि एकै ठाउँमा उभिने भन्ने विषयको आसपासमा कुरा भएपछि सोचमग्न हुनुहुन्छ, पार्टीमा सरसल्लाह गर्छु भन्नुभएको छ, हाम्रो प्रयास संयुक्त संघर्षकै छ । हेरौं के हुन्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।