काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको झगडाले संसद विघटन भएको छ भने नेकपा फुटेको छ ।
ओलीले प्रचण्डसँगको झगडा मिलाउन कुनै उपाय निकाल्न सकेका छैनन् । घर झगडा मिलाउन नसकेका ओलीले छिमेकी देश भारत र चीनबीचको विवाद मिलाउन मध्यस्थता गर्ने गफ दिएका छन् ।
भारतीय न्युज च्यानल ‘जी न्युज’लाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हामी सबैको हित यसैमा छ कि भारत र चीनबीच पनि मित्रवत् व्यवहार होस् । २ मध्ये कुनै पनि देशविरुद्ध हामीले आफ्नो भूमि प्रयोग गर्ने दिने छैनौं । भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन मैले मध्यस्थता गर्न सक्छु । म सी जिनपिङ वा ली खछियाङसँग पनि कुरा गर्न सक्छु, मोदीसँग पनि कुरा गर्न सक्छु । त्यसको लागि म तयार छ ।’
तर ओलीले प्रचण्डसँग झगडा नगर्नु सबैको हित हुने कुरा सोच्न सकेका छैनन् । प्रचण्डसँग झगडा भएकै कारण नेपालले समय अगावै मध्यावधि निर्वाचनमा जानुपरेको छ ।
ओलीले आफू भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बराबरकै प्रधानमन्त्री भएको बताए । देशको भूगोल सानो–ठूलो हुनसक्ने भएपनि सार्वभौमिकता ठूलो–सानो नहुने उनले तर्क गरे ।
भारतका प्रधानमन्त्री मोदी उमेरले आफूभन्दा जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेका ओलीले बताए । ‘आज भारत आफूलाई बोस सम्झिँदैन । व्यक्तिगत रूपमा उहाँ (मोदी) मभन्दा ठूला हुन्, उमेरको हिसाबले । जब २ प्रधानमन्त्री बस्लान्, ठूलो र सानो होइन, बराबर देशका प्रधानमन्त्री बस्नेछन्,’ ओलीले भने, ‘बराबरीमा मोदीजीलाई कुनै गुनासो छैन । मोदीजीको बराबरीको प्रधानमन्त्री हुँ भन्यो भनेर नराम्रो मान्ने धेरै छन् तर म के गरुँ ? म सबैका कुराको पछि त जान सक्दैन ।’
प्रधानमन्त्री ओलीले २ देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुने बताए । ‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता लगाउनका लागि हुनुपर्छ । बहसले नै सत्यलाई बाहिर ल्याउँछ । बहस नगर्ने हो भने सत्यलाई पत्ता लगाउन सकिँदैन,’ ओलीले भने ।
अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारत र चीनबीच संवादका लागि नेपालले समन्वयकारी भूमिका खेल्न सक्ने बताए । उनले भारत र चीन २ छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको र एकको कार्ड अर्कोसँग कहिल्यै नखेल्ने बताए ।
लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भनेर पत्रकार सुधिर चौधरीले सोधेको प्रश्नमा ओलीले भने, ‘तपाईंको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन । अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।