काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतम पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भए । तर त्यसअघि २०७० सालको निर्वाचनमा गौतम प्युठान र बर्दिया दुवै क्षेत्रबाट जितेका थिए ।
२०७० सालमा प्युठानमा जितेको भएपनि अर्काे निर्वाचनमा बामदेवले प्युठान छाड्नु धेरै महंगो पर्यो । उनको प्रधानमन्त्री हुने सपना नै पूरा हुन सकेन । बामदेवले छाडेको प्युठान जिल्लामा नेकपालाई नै अप्ठ्यारो परिरहेको छ ।
पछिल्लो समय प्युठानमा नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेको ओइरो नै लागेको छ ।
नेपाली कांग्रेस प्युठानले चलाएको ‘गाउँ जाउँ, गाउँमै रमाउँ, समय संगठनमा लगाउँ’ अभियानमा कम्युनिस्टहरू आकर्षित बनेका छन् । पछिल्लो पटक अभियानलाई विकट बस्ती र टोलसम्म पुर्याउने योजना कांग्रेस पार्टीले बनाएको छ ।
अभियान अन्तर्गत सरुमारानी, गौमुखी, ऐरावती र मल्लरानी गाउँपालिकाका विकट बस्तीमा पुगेको कांग्रेसमार्फत १ हप्तामा ३१७ जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताएका छन् ।
नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. गोविन्दराज पोखरेल, पार्टी सभापति अमर भण्डारी, पूर्व सभापति शालिग्राम पण्डित, सुवास केसी, गाउँपालिका अध्यक्ष विष्णु गिरी, शिव रिजाल, नविलविक्रम शाह लगायतको टोली अभियानमा खटेको सचिव बर्माले बताए ।
गत शुक्रवार गौमुखी गाउँपालिकाको दलित बस्ती बाग्लीबाङमा आयोजित कार्यक्रममा १८६ घरको गाउँ नै नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको छ । सरुमारानी, ऐरावती, नौवहिनी र माण्डवी गाउँपालीकामा समेत ठूलो संख्यामा कांग्रेस पार्टीमा प्रवेश गरेको पार्टी सभापति अमर भण्डारीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।