काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोली आइतबार दिउँसो काठमाडौं आइपुगेको थियो ।
पिपिई लगाएर काठमाडौं ओर्लेको टोली होटलमा पुगेपछि केही समय विश्राम लिएर साँझ शीतल निवास पुगेको थियो । टोलीले पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु गरेको थियो। नेकपा दुई चिरा भएको अवस्थामा नेपाल आएको चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेको छ ।
नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाउँदै आएको छ । राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीले नेकपा किन फुट्यो ? यसको फेरि मिल्ने विन्दु छ कि छैन ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ? जस्ता जिज्ञासा राख्ने गरेको बताइन्छ ।
चिनियाँ टोलीले आइतबार र सोमबारसम्म विभाजित दलका प्रमुख नेतासँग भेटघाट गरिसकेको छ। राष्ट्रपति सीको विशेष दूतका रूपमा कुओ नेतृत्वको टोलीले आइतबार अपराह्नै बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेटेको थियो। नेकपाकै अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग टोलीले सोमबार भेटवार्ता गरिसकेको छ।
सो टोली अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न बुढानिलकण्ठ पुगेको छ । नेकपा विभाजन रोक्न ‘सुपर ग्लु’ को अनुमान गरिएको चिनियाँ टोली निराश हुँदै बेइजिङ फर्किने भएको छ ।
प्रधानमन्त्री ओलीले राजनीतिक कोर्ष धेरै अघि बढिसकेको र तत्काल पार्टी एक हुने सम्भावना नरहेको बताएपछि चिनियाँ टोली निराश बनेको नेकपा उच्च स्रोतले जनाएको छ ।
चिनियाँ टोलीले प्रतिनिधिसभा अदालतबाट पुनःस्थापना गर्नसकिने तर नेकपा विभाजन रोक्नुपर्ने प्रस्ताव ओलीसँग गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।