काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरोधमा सोमबार देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै सडक तताउँदैछ ।
ओली सरकारको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि कांग्रेस लगायत दलहरू विरोधमा उत्रिएका छन् । कांग्रेसले सोमबार एकैदिन मुलुकभर सडक प्रदर्शन गर्दैछ ।
ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न लागेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । राजधानी काठमाडौंका १० निर्वाचन क्षेत्रका विभिन्न १५ स्थानमा प्रदर्शन सुरू भइसकेको छ ।
विरोध प्रदर्शन सहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने नेपाली कांग्रेसले जानकारी दिएको छ । यसैक्रममा सभापति शेरबहादुर देउवाले भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा सम्बोधन गर्दैछन् । नेता पौडेलले तनहुँमा आयोजित २ वटा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर १ को कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंह र काठमाडौंको कोटेश्वरमा हुने सभामा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने जनाइएको छ ।
चर्चित नेता केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसले ओली सरकारको संसद विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । कांग्रेसको पुस १० गतेको केन्द्रीय कार्यसमिति बैठकले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।