काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको माइन्युट र छाप छ भन्दैमा पार्टी आफ्नो हुन्छ भनेर भ्रममा नपर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । भरतपुरमा नेकपा चितवनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।
सत्ताको दम्भले माइन्युट र छाप लुकाउँदैमा पार्टी र चुनाव चिह्न आफ्नो हुन्छ भनेर तर्क गर्नु मुर्खता सिवाय अरु केही नभएको पाण्डेको भनाई छ । नेकपा पार्टी फुटेको नभै ओलीसहतिका केही मानिस माइन्युट चोरेर भागेको पाण्डेको भनाई छ ।
नेकपाका २५ प्रतिशत केन्द्रीय सदस्य बाहेक ७५ प्रतिशत केन्द्रीय सदस्य अर्थात ३७७ जनाभन्दा बढी सदस्य प्रचण्ड–नेपाल समुहमा रहेकाले नेकपा पार्टी फुटेको नभै केही अधिनायकवादीहरुले मति बिग्रिएर बाटो बिराएकाले आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिह्न सूर्य पनि आफूहरुले नै पाउने दाबी उनको छ ।
निर्वाचन आयोगमा दुई अध्यक्षसहित बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएकाले निर्वाचन आयोगले आफूहरुलाई नै वैधानिकता दिने पाण्डेको भनाई छ । ओलीले शक्तिको बलमा आफूअनुकुल निर्णय गराए भने जनताले सडकबाट ओलीको सरकार ढाल्ने र त्यसैका लागि नेकपाले आन्दोलनको आँधीबेहरी ल्याउन लागेको पाण्डेको भनाई छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।