काठमाडौं – नेपाली कांग्रेसमा पार्टीका आधिकारिक निर्णय र आह्वान सार्वजनिक गर्ने पार्टी सभापति, प्रवक्ता वा मुख्यसचिवबाट प्रेस विज्ञप्ति सार्वजनिक हुने गर्छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पुस १३ गते देशभरका सबै निर्वाचन क्षेत्रमा हुने सरकार विरुद्धको प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति निकालेर अपिल गरेका छन् ।
देउवाको अपिलमा संसद विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली विरोधी आन्दोलन गर्ने निर्णय आफ्नै प्रस्तावमा सर्वसम्मत भएको उल्लेख गरेका छन् । देउवा र ओलीबीच साँठगाँठ रहेको भनेर भइरहेको प्रचारलाई देउवाले खण्डन गर्न खोजेका छन् ।

सभापति देउवाले विज्ञप्ति निकाल्दा–निकाल्दै शनिबारै साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत छुट्टै प्रेस वक्तव्य जारी गरेका छन् । पौडेलको वक्तव्यमा समेत पार्टीको आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ ।
यस्तो छ पौडेलको छुट्टै वक्तव्य –
प्रेस बक्तव्य :
प्रधानमन्त्री श्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् ।
अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।
अव हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । वरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु ।
अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सम्पूर्ण साथिहरुलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्दछु ।
११ पौष २०७७
काठमाडौँ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।